युएससीआईएसद्वारा ११ अगस्ट देखि फारमहरूको इ फालिलिंग अनिवार्य गर्दै
वाशिंगटन । होमल्यान्ड सेक्युरिटी विभाग (डिएचएस) ले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) को सेवाहरुमा निश्चित अध्यागमन फारमहरूका लागि विद्युतीय दर्ता (इ फ़ाइलिङ्ग) अनिवार्य गर्न निर्देशन जारी गरेको छ । ।
युएससीआईएसले कम्तीमा १८० दिनदेखि विद्युतीय दर्ताका लागि उपलब्ध रहेका कुनै पनि अध्यागमन फारमहरू भविष्यमा अनलाइनमार्फत नै बुझाउनुपर्ने व्यवस्था गर्नेछ।
कुनै फारमका लागि विद्युतीय दर्ता अनिवार्य गर्नुअघि युएससीआईएसले आफ्नो वेबसाइटमार्फत कम्तीमा ६० दिन अगाडि नै सर्वसाधारणलाई जानकारी गराउनेछ। फारम भर्ने व्यक्तिले युएससीआईएसमा अध्यागमन फारम बुझाउन अनलाइन खाता प्रयोग गर्नुपर्ने हुन्छ; यसका लागि फारम अनलाइन नै भर्न सकिन्छ वा भरिएको फारम र सम्बन्धित प्रमाणहरूको पीडिएफ फाइल अपलोड गर्न सकिन्छ।
यस पहलले अमेरिकी अर्थ मन्त्रालयको भौतिक ‘लकबक्स’ सेवाहरूमाथिको निर्भरता हटाउनेछ र शुल्क भुक्तानीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियालाई तीव्रता दिने भएको छ ।
डिएचएसका अनुसार कागजी फारमको तुलनामा तथ्याङ्क प्राप्त गर्न, भण्डारण गर्न र पहुँच राख्न सजिलो हुने भएकाले, विद्युतीय दर्ताले जालसाजी पत्ता लगाउने क्षमता बढाउँछ, पहिचान व्यवस्थापनलाई व्यवस्थित गर्छ र छिटो तथ्याङ्क पहुँच तथा विस्तारित विश्लेषणात्मक क्षमतामार्फत राष्ट्रिय सुरक्षा जाँचलाई सुदृढ बनाउँछ। विद्युतीय दर्ताले त्रुटिहरू, अपूर्ण रूपमा बुझाइएका आवेदनहरू र आवेदनसम्बन्धी निर्णय प्रक्रियामा लाग्ने समयलाई घटाउने र निर्णय प्रक्रिया पारदर्शी र प्रभावकारी हुने बताइएको छ ।
धेरैजसो युएससीआईएसका फारमहरूका लागि विद्युतीय दर्ताको अभ्यास पहिलेदेखि नै प्रचलनमा छ। विदेशी नागरिकहरूका लागि विद्युतीय रूपमा सुविधासम्बन्धी अनुरोधहरू दर्ता गर्ने प्रक्रिया नयाँ होइन। विद्युतीय रूपमा दर्ता गर्न नसक्ने आवेदकहरूले छुटका लागि अनुरोध गर्न सक्नेछन ।
डिएचएसका अनुसार यो ‘अन्तरिम अन्तिम नियम’ ११ अगस्ट २०२६ देखि लागू हुनेछ ।