होरा इ–स्पोर्टसलाई पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता
काठमाडौँ । नेपालको होरा इ–स्पोर्टसले फ्रान्सको पेरिसमा जारी इ–स्पोर्टस विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ ।
समूह ‘बी’ को शीर्ष पाँचमा रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको हो । समूहमा चौथो भएको होराले ५७ हजार ५०० डलर पुरस्कार पनि पक्का गरेको छ । समूह चरणमा होराले ९८ अङ्कसहित चौथो स्थान हासिल गरेको हो । टोलीले दुई दिनमा एक चिकेन डिनरसहित ६१ किल र ३७ प्लेसमेन्ट पोइन्ट जोडेको थियो ।
होराले पहिलो दिन नै प्रभावशाली सुरुआत गरेको थियो । सुरुआती दुई खेलमध्ये दोस्रो खेलमा चिकेन डिनर जित्दै टोलीले ५९ अंक जोडेर तेस्रो स्थानमा दिनको खेल टुङ्ग्याएको थियो । दोस्रो दिन भने ६ खेलबाट थप ३९ अंक बटुल्दै चौथो स्थानमा रहन सफल भयो ।
अन्तिम खेलअघि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौँ स्थानमा झरे पनि समग्र अङ्कका आधारमा शीर्ष पाँचमै रह्यो । यससँगै उसले सर्भाइभल स्टेज खेल्नुपर्ने झन्झटबाट समेत जोगिँदै सिधै ग्रान्ड फिनालेको टिकट काटेको हो ।
समूह ‘बी’ बाट भाइटालिटी १४८ अङ्कसहित शीर्ष स्थानमा रहँदा आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन् । समूह ‘ए’ बाट भने फोर थ्राइभ, ओरानगुटान, अउरोरा, टिम फ्ल्यास र निग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन् । यससँगै ग्रान्ड फिनालेका १६ मध्ये १० टोलीको टुङ्गो लागिसकेको छ ।
अब दुवै समूहका छैटौँदेखि १३औँ स्थानमा रहेका १६ टोलीले अगस्ट ११ र १२ मा सर्भाइभल स्टेज खेल्नेछन्। त्यहाँबाट शीर्ष ६ टोलीले ग्रान्ड फिनालेको बाँकी स्थान पूरा गर्नेछन्। समूह चरणका अन्तिम तीन स्थानमा रहेका ६ टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
अगस्ट १४ देखि १६ सम्म हुने ग्रान्ड फिनालेमा होरा विश्वका उत्कृष्ट १६ टोलीसँग उपाधिका लागि भिड्नेछ । उपाधि जित्ने टोलीले मात्रै ५ लाख अमेरिकी डलर पाउनेछ भने उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख ५० हजार डलर प्राप्त गर्नेछन् ।