कविता

‘प्रिय पारिजात’

जब चाँदनी झुल्कियो
तब ताराहरू जगमगाए
जब माछापुच्छ्रेको सिरेटोले
तन, वदन लग-लग काँप्यो
तिमी फर्कियौ, सिङ्गै र एक्लै
पारिजात र चमेलीको सुगन्ध लिएर,
तिम्रा ओठहरू लाग्छ उज्यालो र आगो हो
तिम्रा हातहरूको स्पर्शमा पग्लियो एक युग
सूर्यको लागि बादल लागेको ओछ्यान जस्तै
मलाई तिमीभित्र समाहित गर्छ्यौ भने
तिमी हाँस्छ्यौ र न्यानो स्वरमा सोध्छ्यौ भने
ताराहरू मध्येबाट मलाई मनपर्ने छान्नु ।
म आकाशतिर मौनतामा हुन्छु ।
तिमी मेरा आँखातिर हेरिरहनेछ्यौ रहस्यमय।
हाम्रा धड्कनहरु, कम्पनहरु तिब्रगतिमा कुद्छन
झरी परेको रातमा दुई चरा गुजुल्टिए जस्तै
तिमी हाँस्छ्यौ र आफ्नो ओठ खोल्छ्यौ,
शान्त त्यो पल, क्रमभंग हुदै हुदै
आह!, आज कति शान्त रात छ
कुनै गुनासो छैन, कुनै रोदन छैन
अचानक चुम्बनले तिम्रो ओठ जलाउँछ
जसरी मौरीले फूल हल्लाउछ,
तातो चुम्बनले हाम्रो मुखमा अमृत बर्साउछ ।
तिम्रो ओठले नयाँ, मिठो र तृप्त स्वाद पाउँछ,
तिमी चुम्बनको स्वाद लिँदै आँखा बन्द गर्छ्यौ
आज कति मनमोहक र शान्त हो रात!
तिमी बेहोसीमा फुसफुसाउँछ्यौ ।
प्रभातमा जब चराहरुले
क्षितिजको छानाबाट ताराहरू टिप्छन्
चन्द्रमा अस्तको ओछ्यानमा
तिनीहरूले हाम्रो छायाँलाई मात्र एउटा देख्छन।।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.