पहिरोले घारखोलाको विद्युतगृह पुरियो, शुरक्षा गार्ड बेपत्ता
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना सुरक्षा गार्ड बेपत्ता हुनुभएको छ ।
मङ्गलबार राति करिब ३ बजे विद्युतगृहको पछाडि रहेको ल्यासीको भीरबाट पहिरो खस्दा विद्युतगृहमा क्षति पुगेको हो । पहिरोमा परी आयोजनामा सुरक्षार्थ खटिनुभएका खिमबहादुर बरुवाल (दिपक) सम्पर्कविहीन हुनुभएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिनुभयो ।
पहिरोले जलविद्युत् आयोजनाको विद्युतगृह पुरिएको सूचना पाएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले पहिरोमा पुरिनुभएका एक जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
विद्युतगृहको पछाडि रहेको पहाडको माथिल्लो भाग खसेर विद्युतगृहको केही भाग पुरिएको प्रहरीले जनाएको छ । आयोजनामा कार्यरत एक जना सुरक्षा गार्ड सम्पर्कविहीन रहेको र उहाँको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
२०८० असारदेखि यो पावरहाउस सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङमार्फत सोही गाउँपालिका–६ अमिलाकाफलस्थित आउटलेटमा ल्याइएको छ ।
त्यहाँबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइपमार्फत ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित विद्युतगृहमा पानी पुर्याइएको छ । पहिरोले विद्युतगृहमा क्षति पुर्याएपछि आयोजनाको विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ ।