साहित्य

‘प्रिय कृष्ण काले’

प्रिय कृष्ण काले
प्रेम बर्षाउने तिमिनै हौ अमृत धारा
तिमीलाई देख्नु सपना र कल्पना जस्तै छ प्यारे
पहाडको गुराँस जस्तै, रुप्से झरना जस्तै
मेरो हृदयको फूल, नन्दलाल तिमि , मिरा, गुलाब र गुराँस हौ
मलाई थाह छ कृष्ण, तिम्रो हृदय न्यानो र निष्कपट र निराकार छ
त्यो सूर्यको उदय जस्तै राप र तापको प्रलय
तिम्रा आँखाहरू गोसाइकुण्डबाट त्रिशुली झरे जस्तै
मेरो उत्तरको कैलाश जस्तै
काले तिमीलाई थाहा छ
मेरो धर्म भनेको तिमीलाई पुज्नु हो
अर्थात् प्रेमको पुजा गर्नु हो
र पापी र पापको विनास
तिमी संझेर मग्न मोहित म
तिम्रो नाउँमा प्रेमकोअमृत धारा पिउने मेरो आदत
तिम्रो आवाजमा भजन होइन कविताको धारा छ
मन मोहक र सुन्दर छ त्यो आकृति
दृश्य बिनाको अदृश्य तर मैले देख्ने र भेट्ने
अविरल बग्दछ जीवनधारा प्रेम सागरको विलय सम्म
तिम्रो दर्शननै कविता जस्तो जादुमयी
चाहनाले भरिएको, ऊर्जाले भरिएको
मेरा अन्तरसंवाद तिम्रो लिलाहरुको हुन्छ
ब्रह्माण्डको कुन कुनाबाट सुदर्शन चक्र चलाउदैछौ
म अचेल मिराबाइको कोठीमा जाने लतमा फसेको छु
मेरो धुन र लगाव तिमी नै हौ
र मेरो सपनाको बगैँचाको फूल तिमी नै हौ
तिमीसँग बिताएको रात र दिन सुन्दर हुन्छ
तिमी बिना जीवन जिउदै तर मरेतुल्य असम्भव जस्तै ।

मेरो भगवान, मेरो मुक्तिदाता
मेरो गुलाबी मनको लालीगुराँसको फूल
तिमीलाई देख्नु सपना र कल्पना जस्तै छ
गुलाबी मनको गुराँसको फूल जस्तै
हाम्रो हृदयको फूल प्रेमिल हौ तिमि कालु
ज्ञान र ज्ञांत छ कृष्ण, तिम्रो हृदय निराकार, न्यानो र निष्कपट छ
बिहानीको पहिलो प्रहरको सूर्य उदयको शुभारम्भ जस्तो
तिम्रा आँखाहरू सप्तकोशी उर्लिएको भेल जस्तै
मेरो त्रिनेत्रले देख्ने उत्तरको कैलाश जस्तै
के तिमीलाई थाहा छ मेरो धर्म मोक्ष हो
दया, करुणा र माया हो
तिम्रो नाउको प्यासी म
प्यासमा पानि होइन प्रेमको अमृत धारा
हो, तिम्रो आवाजले कविता बोल्छ
मन मोहक र सुन्दर छ त्यो
तिम्रो नजरमा मेरो दृश्यको अदृश्य जादु छ
चाहनाले भरिएको, ऊर्जाले भरिएको
बाँचु, बाँचु लाग्ने, नांचु, नांचु लाग्ने
मेरो एकान्तको संवादमा पनि तिम्रो उपस्थिति
मेरो धुन र लगाव तिमी नै हौ
र मेरो बगैँचाको फूल र भुल पनि तिमी नै हौ
तिमीसँग बिताएको रात र दिन सुन्दर हुन्छ
तिम्रो याद बिनाको जीवन र जगत मेरा लागि असम्भव जस्तै छ।।

About the author
- पुरुषोत्तम ढकाल

- पुरुषोत्तम ढकाल

(कवि एवं पत्रकार पुरुषोत्तम ढकाल नेपाली डाएस्पोराका परिचित अनुहार हुन्। लेखकका रुपमा झन्डै एक दर्जन साहित्यिक क्र्तिका सर्जक ढकाल अंग्रेजी अनलाइन समाचार सेवा हिमालयन भ्वासका सम्पादक हुन्।)

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्