राजनीति

जनताको आशा र भरोसामाथि तुषारापात हुन नदिने सभापति लामिछानेको प्रतिबद्धता

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

छठ पर्वका अवसरमा रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अब जनताका बीचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताउनुभयो । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेर जान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीको विधि, विधान र प्रक्रिया विपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्‍याउने उद्देश्य राखेको उहाँको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताउनुभयो । यसलाई उहाँले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गर्नुभयो । उहाँले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुग्नुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्