बोस्टन सप्ताह महायज्ञको शुभारम्भ
बोस्टन। अमेरिकाको बोस्टनमा आइतबारदेखि सप्ताहव्यापी ज्ञान महायज्ञ सुरु भएको छ।
पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) द्वारा आयोजित महायज्ञ अगस्ट २३, २०२६ सम्म ब्रेनट्री सिटीमा रहेको संस्थाको आफ्नै सामुदायिक भवनमा सञ्चालन हुनेछ।
सप्ताहको पहिलो दिन बोस्टन, केपकर्ड, न्यूह्यामसायर, कनेक्टिकेट र रोड आइल्याण्ड लगायतका राज्यबाट आएका नेपालीले भव्य कलश यात्रामा सहभागिता जनाएका थिए। आफ्ना परम्परागत नेवार, गुरुङ, तामाङ, राई र लिम्बु पोशाकका साथै दौरासुरुवाल र ढाका टोपीमा सजिएका करिब १२ सय जनाले कलश यात्रामा सहभागिता जनाएका थिए।
कूल ३ सय ६० कलश राखिएको यात्रामा नेपाली पञ्चैबाजा, झ्याली, ढोलक, मादल र खैजडी बजाउँदै नाचगान गरिएको थियो। नेपाली संस्कृति झल्कने उक्त दृश्य हेर्न अमेरिकीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। ब्रेनट्री सिटीहलबाट सामुदायिक भवनसम्मको करिब एक किलोमिटर दूरीको यात्रा पूरा गर्न एक घण्टा लागेको थियो।
स्थानीय प्रहरी र प्रशासनको सहयोगमा सहज बनेको उक्त यात्रामा महायज्ञका प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेलका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधि, समाजसेवी, साहित्यकार, गायक एवम् सङ्गीतकर्मीहरूको सहभागिता रहेको थियो। कलश यात्रापछि सामुदायिक भवनमा कलश प्रतिस्थापन गरी नित्य भजनकीर्तन गरेर प्रथम दिनको कार्यक्रम सम्पन्न गरिएको थियो।
अगस्ट २३ सम्म सञ्चालन हुने महायज्ञमा दैनिक बिहान नित्य पूजा हुनेछ। अपरान्ह २:०० बजेदेखि साँझ ७:०० बजेसम्म श्रीमद्भागवत कथा वाचन हुनेछ। महायज्ञबाट सङ्कलन भएको रकमले सामुदायिक भवनको ऋणमोचन गर्ने योजना संस्थाको रहेको छ।