रास्वपाको केन्द्रीय समितिमा प्रवासबाट पाँच जनाको नाम सिफारिस, अमेरिकाको प्रतिनिधत्व छैन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रवासबाट पाँच जनाको नाम सिफारिस गरिएको छ।
चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित भएपछि प्रवासी नेपालीमध्येबाट केन्द्रीय समिति सदस्य मनोनयन गर्ने बाटो खुलेको हो।
यससँगै विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूले पाँच जनासम्मको नाम सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय समितिलाई सिफारिस गरेका छन्।
महाधिवेशनका क्रममा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, विदेशबाट आएका महाधिवेशन प्रतिनिधि तथा विधान समितिका प्रतिनिधिबीच भएको छलफलपछि प्रवासी नेपालीलाई सभापतिबाट मनोनित हुने केन्द्रीय समिति सदस्यमा समावेश गर्ने सहमति भएको थियो।
यससँगै पहिलोपटक विदेशमा रहेका पार्टी सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित हुने भएको छ।
प्रवासबाट सिफारिस गरिएका नाममा जापानबाट दिलेन्द्रप्रसाद जोशी, डेनमार्कबाट शशिकुमार ढकाल, कतारबाट अब्दुल करिम वा चन्द्रसाद सापकोटा, साउदी अरेबियाबाट अमर सापकोटा वा सलिनकुमार खड्का तथा बेलायत (यूके) बाट पवन कँडेल रहेका छन्।
युकेबाट सिफारिस भएका कँडेलले पछि केन्द्रीय समितिको भूगोलतर्फबाट पनि प्रतिस्पर्धा गरेका थिए तर पराजित भएका थिए।
कतार र साउदी अरेबियाबाट एकभन्दा बढी नाममा सहमति जुट्न नसकेपछि ती देशका सिफारिसमध्ये एक–एक जनाको अन्तिम छनोट गर्ने जिम्मेवारी केन्द्रीय नेतृत्वलाई दिइएको छलफलमा सहभागी प्रतिनिधिहरूले बताएका छन्।
यता उत्तर अमेरिका महादेशबाट एकजनाको नाम पनि सिफारिस नहुनुले अमेरिकामा रहेका रास्वपा समर्थक निरास देखिएका छन्।
रास्वपाको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये १०८ जना निर्वाचित हुने र ५० जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। हाल पार्टीमा ११ पदाधिकारी, ३१ सचिवालय सदस्य र ५० केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छन्।