जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको हो।
पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश द्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आज श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरिएको हो ।
श्रेष्ठलाई गैरकानूनी रुपमा गिरफ्तार गरिएको भन्दै उहाँकी पत्नीले बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको छ ।
आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न आदेश लगत्तै श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको हो ।