नेपाल

मनासलु पुगेका ९८ पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा । बुढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बुढीगण्डकीमा आएको बाढीका कारण मनासलुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए ।

ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार मनासलु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन् । आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पुर्‍याएको छ ।

एमक्यापले हाल चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ । चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो । धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुब्रीको जगतसम्मको बाटोका अधिकांश स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी ओझाले बताउनुभयो ।

सामागाउँ जान चाहने पदयात्रीले भने हेलिकप्टरबाट सिधैँ फिलिमसम्म जान सक्ने विकल्प रहेको उहाँले जानकारी दिनुभयो । ओझाका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्