कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुभएको छ ।
आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो । नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उहाँ विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमाथि आज दिउँसो बसेको प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनु भएको हो ।
आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनु भएका कँडेलले सुरुमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनु भयो । उहाँले आफ्ना लागि कुर्सी नै ठूलो कुरा नरहेको बताउँदै आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको स्मरण गर्नु भयो ।
मुख्यमन्त्री कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा मुख्यमन्त्री बन्नु भएको थियो । पछि केन्द्रमा समीकरण परिवर्तन भएपछि काँग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबण्डा गरी २०८१ साउन २१ गतेदेखि नेपाली काँग्रेससँगको गठबन्धनमा पनि मुख्यमन्त्री कँडेलले सरकारको नेतृत्व गर्दै आउनु भएको थियो ।
४० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । अविश्वासको प्रस्तावमै काँग्रेसले संसदीय दलका नेता जीवनबहादुर शाहीलाइ नयाँ मुख्यमन्त्री बनाउने उल्लेख छ ।
गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिनु भएको थियो ।