अनशनरत डा गोविन्द केसी अस्पताल भर्ना
धनगढी । पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।
उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको अस्पताल प्रमुख डा हेमराज पाण्डेले जानकारी दिनुभयो । लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो ।
यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुभएको छ । डा पाण्डेका अनुसार मन्त्री मेहताले उहाँसँग टेलिफोन गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको हो ।
“मन्त्रीले डा केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । यहाँ सम्भव भएसम्म सबै उपचार गर्न र केही समस्या भए तुरुन्त वैकल्पिक व्यवस्थाका लागि पहल गर्न र काठमाडौँ रेफर गर्नुपर्ने अवस्थाबारे जानकारी गराउन भन्नुभएको छ । सोहीअनुसार हामीले उच्च सतर्कतासहित निगरानी गरिरहेका छौँ”, अस्पताल प्रमुख डा. पाण्डेले भन्नुभयो ।