नेपाल

बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । 

नेपाल प्रहरीले आज बिहान ९ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी, कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा  पहिरो खसेकाले सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्