अर्थ

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ ।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने बताउनुभयो । उहाँले कर सङ्कलनका लागि जबर्जस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्नुपर्नेमा जोड दिनुभयो ।

कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भएर भन्न पनि उहाँले आग्रह गर्नुभयो । कर प्रशासनमा काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

यस वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई मोडेलको रूपमा बुझ्न आग्रह गर्दै उहाँले आगामी चार आर्थिक वर्षको बजेटमार्फत सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार देखिने बताउनुभयो ।

बजेटमा दिइएको छुटका योजना कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबैखाले पहल गर्न उहाँले विभागीय नेतृत्वलाई निर्देशन दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्