भेनेजुएलाका पूर्व विश्व च्याम्पियन बक्सर लिनारेस अमेरिकी अध्यागमनको नियन्त्रणमा
सन् २०२३ मा लिभरपूलमा बेलायतका ज्याक क्याटरलसँग पराजित भएपछि उनले खेल जीवनबाट सन्यास लिए। आफ्नो करियर टुंग्याउँदा उनको नाममा ४७ जित (जसमध्ये २९ नकआउटमार्फत) र ९ हारको कीर्तिमान रह्यो।
टेक्सास। तीन पटकका विश्व बक्सिङ च्याम्पियन जर्ज लिनारेसलाई अमेरिकी आप्रवासन अधिकारीहरूले टेक्सासमा नियन्त्रणमा लिएका छन्। बक्सर लिनारेस पक्राउ परेको उनका वकिलहरूले पुष्टि गरेका छन्।
सन् २०२३ मा बक्सिङबाट सन्यास लिएका ४१ वर्षीय भेनेजुएलाका पूर्व च्याम्पियनले आइतबार सामाजिक सञ्जालमा आफूलाई अमेरिकी ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) ले नियन्त्रणमा लिएको जानकारी दिएका थिए।
‘मलाई आइसले टेक्सास सीमा नाकामा नियन्त्रणमा लिएको छ। यो त अनौठो (अकल्पनीय) कुरा हो,’ लिनारेसले ‘एक्स’मा लेखेका छन्। त्यसयता उनले अरू केही पोस्ट गरेका छैनन्।
सोमबार सामाजिक सञ्जालमा जारी गरिएको एक विज्ञप्तिमा लिनारेसका वकिलहरूले उनी नियन्त्रणमा रहेको पुष्टि गर्दै, उनी कानुनी रूपमै संयुक्त राज्य अमेरिकामा रहेको बताएका छन्।
‘श्री लिनारेस संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा रहनुभएको छ र उहाँले अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहनुभएको छ,’ ‘विल्नर एन्ड ओ’राइली’ नामक कानुन व्यवसायी संस्थाले जनाएको छ।
‘हामी यो विषयलाई जतिसक्दो चाँडो समाधान गर्न आइस र ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डिएचएस) सँग नजिक रहेर काम गरिरहेका छौं।’
‘हामीलाई श्री लिनारेसको कानुनी पक्ष बलियो छ भन्ने विश्वास छ र प्रक्रिया पूरा भएपछि यो विषय समाधान हुने अपेक्षा गरेका छौं। यस अवधिमा हामी उनका समर्थकहरू, सञ्चारमाध्यम र आम जनतालाई धैर्य गरिदिन आग्रह गर्दछौं।’
‘वर्ल्ड बक्सिङ एसोसिएसन’ (डब्लुबिए) का अध्यक्ष गिल्बर्टो मेन्डोसाले पनि लिनारेस आइसको नियन्त्रणमा रहेको पुष्टि गरेका छन्।
‘मेरा साथी तथा डब्लुबिएका पूर्व विश्व च्याम्पियन जर्ज लिनारेस आइसको हिरासतमा हुनुहुन्छ भन्ने कुरा म पुष्टि गर्छु,’ मेन्डोसाले ‘एक्स’मा लेखेका छन्।
‘उनको मुद्धाअहिले आप्रवासनसम्बन्धी वकिलहरूको हातमा छ र म उहाँको परिवारसँग निरन्तर सम्पर्कमा छु। डब्लुबिएको अध्यक्षको हैसियतले, म हाम्रा च्याम्पियनहरूलाई रिङभित्र र बाहिर सधैं समर्थन गर्नेछु।’ “बलियो रहनु, जर्ज।”
आफ्नो पुस्ताका सबैभन्दा कुशल लडाकुहरूमध्ये एक मानिने लिनारेसले आफ्नो २१ वर्षे खेल जीवनमा तीन तौल समूहहरू—फेदरवेट, सुपर फेदरवेट र लाइटवेट—मा विश्व उपाधिहरू जितेका थिए।
“द गोल्डेन ब्वाई” उपनाम पाएका भेनेजुएलाका यी खेलाडीले सन् २००७ मा आफ्नो पहिलो विश्व उपाधि जितेका थिए।
त्यसपछि उनले सन् २००८ देखि २००९ सम्म डब्लुबिए सुपर फेदरवेट उपाधि, तथा सन् २०१४ देखि २०१८ सम्म डब्लुबिए र डब्लुबिसी लाइटवेट उपाधिहरू आफ्नो नाममा पारेका थिए।
सन् २०२३ मा लिभरपूलमा बेलायतका ज्याक क्याटरलसँग पराजित भएपछि उनले खेल जीवनबाट सन्यास लिए। आफ्नो करियर टुंग्याउँदा उनको नाममा ४७ जित (जसमध्ये २९ नकआउटमार्फत) र ९ हारको कीर्तिमान रह्यो।