सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो : दानबहादुर कार्की
काठमाडौँ। नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजीप्रति सचेत रहेको उल्लेख गरिएको छ।
पछिल्लो समय केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणी सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम फैलिनुका साथै सुरक्षा जोखिम उत्पन्न हुन सक्ने र सङ्गठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पर्न सक्ने जनाएको छ।
विज्ञप्तिमार्फत प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अपुष्ट, भ्रामक, तथ्यहीन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न आग्रह गरेको छ। समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिताको पालना गर्नसमेत अनुरोध गरिएको छ।
सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने प्रहरीको भनाइ छ।