म्याग्दीको सदरमुकाम बेनी बजारमा राति पहिरो जादा १५ घरमा क्षति
म्याग्दी । बेनी बजारको न्यू रोड क्षेत्रमा गए राति पहिरो खस्दा १५ घरमा क्षति पुगेको छ। राति करिब १० बजे पहिरो खसेपछि न्यू रोड आसपासका घर तथा अन्य संरचनामा क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। पहिरोका कारण प्रभावित क्षेत्रमा थप जोखिमसमेत बढेको जनाइएको छ।
नगर प्रमुख केसीका अनुसार पहिरोबाट क्षति पुगेका घर तथा प्रभावित परिवारको अवस्थाबारे स्थलगत रूपमा विवरण संकलन भइरहेको छ। क्षतिको यकिन विवरण संकलन गरी प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो।
रातिको समयमा पहिरो खसेपछि स्थानीयवासी त्रसित बनेका थिए। जोखिममा रहेका केही परिवार राति नै सुरक्षित स्थानमा सरेका छन्। पहिरो थप खस्न सक्ने सम्भावित क्षेत्रमा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।
घटनास्थलमा स्थानीय तह तथा सम्बन्धित निकायबाट आवश्यक व्यवस्थापन तथा उद्धारको काम भइरहेको छ। थप क्षतिको विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ।