मिस युनिभर्सको उपाधि प्रयास्ना गुरुङलाई
काठमाडौँ । मिस युनिभर्स नेपाल–२०२६ को उपाधि प्रयास्ना गुरुङले जित्नुभएको छ । आइतबार बेलुका भएको कार्यक्रममा १४ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले शीर्ष उपाधि प्राप्त गर्नुभएको छ ।
यस्तै विनीता ओलीले मिस अर्थ नेपाल–२०२६ उपाधि चुम्नुभयो । अन्तिम प्रतिस्पर्धामा पूर्वमिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेतृ सेलिना जेटली मुख्य निर्णायकमा हुनुहुन्थ्यो ।
गुरुङ बेलायतस्थित गैरआवासीय नेपाली हुनुहुन्छ । उहाँले महिला सशक्तीकरणका कार्यक्रम ‘दी डिग्निटी’ चलाइरहनुभएको छ । यस्तै मिस अर्थ नेपाल ओलीले अन्तर्राष्ट्रिय एयरहोस्टेसको अनुभव लिनुभएको जनाइएको छ ।
‘मिस अर्थ’ को आयोजना लामो समयदेखि मिस नेपालको आयोजक संस्था ‘दी हिडन ट्रेजर’ ले गर्दै आएको थियो । केही वर्षपहिले संस्थाले आयोजना छाडेको थियो । अहिले भने मिस युनिभर्स नेपालको इजाजत लिएको उक्त संस्थाले नै मिस अर्थ आयोजना गरेको हो ।