मुस्लिम अगुवाहरुले लगाउनुभयो दसैंको टीका र जमरा
नेपालगन्ज। धार्मिक सद्भावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले पनि हिन्दु समुदायका मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् ।
मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई कायम राख्दै स्थानीय मुस्लिमहरुले बुधवार दसैंको टीका जमरा लगाएर धार्मिक सदभावलाई निरन्तरता दिएका हुन् ।
स्थानीय मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका जमरा थापेर दसैं मनाएको बताउनुभयो । उहाँले दसैं, तिहार, रक्षा बन्धन, होली, दिपावलीजस्ता चाडपर्व सधैं यसैगरी मिलेर मनाउने गरेको जनाउनुभयो ।
मुस्लिमको चाडपर्व ईद, बकराईद, मोहर्ररम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनहरुलाई बोलाएर सँगै मनाउने गरेको पनि अगुवा मन्सुरीले बताउनुभयो । नेपालगन्जका हिन्दु र मुस्लिम समुदायले बर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदैआएको उहाँको भनाइ छ ।
सोही प्रकारले मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष तथा पूर्व वडा अध्यक्ष सफिक नद्दाफले दसैंमा हिन्दु समुदायको आफन्त र मान्यजनबाट टीका र जमरा थाप्नुभयो । उहाँले पनि आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुभयो ।
उहाँले बर्षौदेखि आफूले दुबै समुदायको चाडपर्व सँगै मनाउने गरेको जनाउँदै एकअर्कासँग मिलेर चाडपर्व मनाउँदा अति नै रमाइलो हुने बताउनुभयो । हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा नै बनिसकेको मुस्लिम अगुवा नद्दाफको भनाइ छ ।
सोही प्रकारले जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र मुस्लिम अगुवा हाजी रहमान मियाँले पनि हिन्दु मान्यजनबाट दसैंमा टीका जमरा लगाएर आशीर्वाद लिएको बताउनुभयो । उहाँहरुले सबै चाडपर्वलाई सम्मान गरेर मनाउँदैआएको बताउनुभयो ।
उता, हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जमा एकअर्काको चाडपर्वलाई मिलेर मनाउने निकै राम्रो परम्परा रहेको जनाउँदै आफूले पनि मुस्लिमका पर्वहरुमा उनीहरुको घरमै पुगेर मनाउँदैआएको बताउनुभयो ।
सोहीप्रकारले मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरको मूल महन्त चन्द्रनाथ योगीलाई बुधवार विहानै फोन गरेर दसैंको शुभकामना दिएको जनाउनुभयो । शारीरिक अशक्तताले यस पटक भेटेर शुभकामना दिन नपाए पनि बिहानै फोन गरेर शुभकामना दिएको उहाँले बताउनुभयो ।
दुबै समुदायको धार्मिक गुरुहरुले गत केही वर्षदेखि नेपालगन्जमा एकअर्कासँग अंकमाल गरी दसैं, ईद र अन्य चाडपर्व मनाउँदै आउनुभएको छ ।