नेपाल

कालीगण्डकीको धार बस्ती पसेपछि तिल्केनीचौरका घर रित्तिए

सन्तोष गौतम,  म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ ।

आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उहाँले सामान निकालेर घर अगाडिको सडकमा थुपार्नुभयो । ती सामान लगेर कहाँ बस्ने भन्ने निर्णय लिन उहाँले अझै सक्नुभएको छैन ।

“करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था छैन”, सोमबार दिउँसो घरका सामान सार्दै गरेका गमबहादुरले भक्कानिँदै मलिन स्वरमा भन्नुभयो, “कालीगण्डकीको बाढी र कटानले हामीलाई सुकुमवासी बनायो । परिवारलाई कहाँ लगेर राख्ने ? टुङ्गो छैन ।”

विदेशमा दुःख गरेर जोडेको सडक छेउको एक रोपनीभन्दा बढी जग्गा बगाएको छ । यस्तै, २० वर्षदेखि बस्दै आएको घर छाडेर हिँड्नुपर्दा गमबहादुरको गहभरी आँसु छचल्किएका देखिन्थे । आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको व्यापारिक केन्द्रजस्तै थियो ।

तिल्केनीका रेन्टुरेन्टमा लोकल माछा, कुखुरालगायत स्थानीय परिकारसँग खाजा र खानाका लागि बेनी–जोमसोम सडकमा यात्रा गर्ने मात्र नभएर बेनी, बागलुङ, कुश्मा र पोखराबाटसमेत पाहुना आउथे । अब त्यो इतिहास बनेको छ । असोज ८ देखि ११ गतेसम्मको लगातारको झरीपछिको बाढीले पाहुनालाई स्वादिष्ट स्थानीय परिकारको स्वाद चखाउने तिल्केनीचौरका घर रित्तिएका छन् ।

रेष्टुरेन्ट व्यवसायी गोपाल भण्डारीले पनि जीवनभरको कमाई खर्चेर बनाएको घर छाडेर हिँड्नुपरेकामा दुःख सुनाउनुभयो । कालीगण्डकीको बाढीले धार परिर्वतन गरेर भण्डारीको घरछेउको खेलमैदानको ८० प्रतिशत भाग कटान गरेको छ । नदी त्यही स्थानबाट बग्न थालेको छ ।

“पचास मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरेर एक्कासी बस्तीमा आउला भन्ने कल्पना पनि गरेको थिएन”, भण्डारीले भन्नुभयो, “हाम्रो घरजग्गा र सम्पत्ति मात्रै नभई यहाँ काम गरेर जीविकोपार्जन गर्ने मजदुर, तरकारी, दूध, फलफूल, कुखुरा बेच्ने किसानलाई पनि पीडा भएको छ ।”

तिल्केनीचौरको चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङले करिब दुईदशक व्यवसाय गरेर बसेको ठाउँ छाडेर गलेश्वरमा बस्न थालेको बताउनुभयो । “तिल्केनीचौर बस्तीमा अहिले भएका घर जुनसुकैबेला कालीगण्डकीले बगाउने अवस्था छ”, उहाँले भन्नुभयो, “यो बस्तीमा अब रित्ता घर मात्र रहने भए ।”

तिल्केनीचौरको नजिकै रहेको घुमाउने तालमा पनि कालीगण्डकीले कटान गरेर जोखिम निम्त्याएको स्थानीय हरि चन्दले बताउनुभयो । बाढी र कटानको डरले रातमा पाखोमा रहेको कुखुराको फार्ममा गएर सुत्ने गरेको उहाँले बताउनुभयो ।

घुमाउने तालदेखि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । यो पुल म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिका समेटिएको अन्नपूर्ण–धौलागिरि चक्रीय पदमार्गको प्रवेशबिन्दु थियो ।

बाँसखर्कबाट ल्याएको पाइपलाइन पुलसँगै बगेकाले खानेपानीको अभाव भएको चन्दले बताउनुभयो । यहाँ करिब १० घरपरिवारको बसोबास छ । बाँसखर्कतर्फ बाढीले खेतीयोग्य जमिन कटान गरेको छ । राखु र बाँसखर्क क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा पनि कालीगण्डकीले कटान गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटले गत हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।

विद्युत्गृहदेखि ५० मिटर टाढा रहेको कालीगण्डकीले धार परिवर्तन गरेर स्वीचयार्ड नजिक आएको र विद्युत्गृहबाट पानी बगाउने टेलरेसबाट बग्न थालेको छ । टेलरेस बगाए पनि विद्युत्गृहलाई भने क्षति गरेको छैन ।

सोह्र वर्ष लगाएर निर्माण भएको राहुघाटको परीक्षण उत्पादन बन्द भएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले प्राकृतिक विपद्का कारण केही दिनका लागि परीक्षण उत्पादन बन्द गरिएको बताउनुभयो । विद्युत्गृह र कालीगण्डकीको बीच भागमा रहेको बेनी–जोमसोम सडक बाढीले बगाएको छ । पहिले गाडी हिँड्ने सडकमा अहिले नदी बगेको छ ।

विद्युत्गृह परिसरमा रहेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)का उपकरण र सवारीसाधन बाढीले बगाएको छ । करिब २० वटा सवारीसाधन बाढीले बगाएको जेपीका कर्मचारी कुमार यादवले बताउनुभयो । आयोजना निर्माण सकेर जाने समयमा विपद्बाट अर्बौंको क्षति व्यहोर्नुपर्दा दुःख लागेको उहाँले बताउनुभयो ।

गायत्रीमन्दिर पारीको राममन्दिर क्षेत्रमा कालीगण्डकीको भँगालो ठोक्किएको छ । कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गममा रहेको राममन्दिर जोखिममा परेको छ । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएको छ ।

सडकबाट आएको लेदो घरभित्र पसेर हिलाम्मे बनाएको स्थानीय मिम थकालीले बताउनुभयो । पाखोबाट खस्ने पहिरोको दीर्घकालीन समाधान नहुँदा बर्सेनि समस्या व्यहोर्नुपरेको राहुघाटवासीले गुनासो गरेका छन् । पहिरोबाट २१ घरपरिवार जोखिममा परेका छन् । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्