खेलकुद

पोर्चुगलमा जारी अन्तर्राष्ट्रिय केम्पो ओपन कपमा नेपाललाई सात पदक

काठमाडौं । नेपालका रोशनकुमार यादवले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा दुई स्वर्ण पदकसहित सात पदक दिलाएका छन् ।

पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा रोशनकुमारले समान २–२ स्वर्ण÷रजत र ३ कांस्य गरी कुल ७ पदक जितेका हुन् । सिनियर विधाको सेल्फ डिफेन्समा कांस्य पदक जित्दै रोशनले नेपालको पदक संख्या थपेको नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले बताए । हरेक खेलाडीले केम्पोमा सात विधामा प्रतिस्पर्धा गर्न पाउँछन् ।

१४ वर्षे रोशनकुमार फुल केम्पो ४० केजी र सबमिसन केम्पो ४० केजी विधामा स्वर्ण पदक जित्न सफल भए । एम्प्टी ह्यान्ड काटा र सेमी केम्पोमा भने रोशन रजत पदकमा नै सीमित भए । उनले लाइट केम्पोमा र सेल्फ डिफेन्समा कांस्य पदक जितेको केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए । केम्पोलाई मार्सल आटर््सकै हाइब्रिड विधाका रूपमा चिनिन्छ ।

पोर्चुगिज केम्पो तथा इन्टरनेसनल केम्पो फेडेरेसन (आइकेएफ) ले आयोजना गरेको प्रतियोगितामा उनको प्रदर्शनले अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको क्षमता र नयाँ पुस्ताको सम्भावनासमेत देखाएको फेडेरेसनको विश्वास छ । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले पोर्चुगलमा प्राप्त सफलतालाई नेपाली केम्पोका लागि ठूलो उपलब्धि र ऐतिहासिक रहेको बताए ।

‘पदक थपिनु हाम्रो लागि गर्वको क्षण हो । एउटै खेलाडीले सात पदक जित्दा धेरै उत्साहित भएका छौं । यसले नेपालको क्षमता अन्तर्राष्ट्रियस्तरमा बलियो हुँदै जानेछ,’ अध्यक्ष शाहले भने ।

नेपाली केम्पोले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ । गत अप्रिलमा सम्पन्न केम्पो विश्व च्याम्पियनसिपमा नेपालले विभिन्न विधामा २५ पदक जितेको फेडेरेसनले जनाएको छ । विश्व च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय केम्पो ओपन कपमा समेत उल्लेखनीय सफलता प्राप्त गर्नुलाई नेपाली केम्पोको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

केम्पो खुकुरी फेडेरेशनले यस सफलताका लागि खेलाडी, प्रशिक्षक, पदाधिकारी, अभिभावक तथा सम्पूर्ण नेपाली खेलप्रेमीमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्