एक्सक्लुसीभ

भोली देखि फिफा विश्वकप सुरु, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

पुरुषोत्तम ढकाल, लस-एन्जलस । चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको २३औँ संस्करण क्यालिफोर्नियाको मिति र समय अनुसार भोलीबाट सुरु हुँदैछ। पहिलोपटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार भने आज राति १२ः४५ बजे सुरु हुनेछ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलोपटक ४८ टोली सहभागी छन्। यसअघि विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए।

समूह ‘ए’ मा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी सुरुआत गर्ने लक्ष्यमा छन्। यसअघि सन् २०१० को विश्वकपको उद्घाटन खेलमा पनि यी दुई टोली भिडेका थिए। उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

मेक्सिको सन् १९९४ यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको १८औँ विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक ६० खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् १९७० र १९८६ मा घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्नु हो।

दक्षिण अफ्रिकाले भने चौथोपटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा नौ खेल खेलेको दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। सन् २०१० पछि पहिलोपटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद सुरुआत गर्ने लक्ष्यमा छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.