किन्नरको कथा ‘एलिफेन्ट इन दी फग’
जङ्गली हात्तीको गस्ती गर्न गएकी छोरी हराएपछि खोजीमा हिँडेकी आमाको भावनात्मक कथाले अन्त्यसम्म दर्शकलाई बाँधिरहन्छ । किन्नर समुदायकी पात्र पिरतीले आफ्नी हराएकी छोरी अप्सरालाई खोज्न गरेको चरम सङ्घर्ष नै चलचित्रको मूल कथा हो । मातृत्वको भावना उत्कृष्ट रूपमा चलचित्रमा प्रस्तुत गरिएको छ । मातृत्वको अनुभूति लैङ्गिक रूपमा महिलाले मात्रै बढी गर्न सक्छन् भन्ने हाम्रो आमबुझाइ सङ्कुचित रहेछ भन्ने लाग्छ ।
काठमाडौँ। ‘एलिफेन्ट इन दी फग’ (तिनीहरू) चलचित्रको कथावस्तु किन्नर समुदायको विषयमा आधारित छ । मानवताका बारेमा मानव समुदाय नै झन् बढी चुकेको अनुभूति चलचित्रले गराउँछ । समाजले हिजडाका रूपमा चिन्ने किन्नर समुदायलाई हेर्ने दृष्टिकोणप्रति सोच्न बाध्य बनाउँछ । किन्नर समुदायलाई आफ्नै समाजमा मान्छे भएर बाँच्न कति कठिन छ भन्ने विविध पक्षको अनुभूति पनि चलचित्रमा गर्न सकिन्छ ।
जङ्गली हात्तीको गस्ती गर्न गएकी छोरी हराएपछि खोजीमा हिँडेकी आमाको भावनात्मक कथाले अन्त्यसम्म दर्शकलाई बाँधिरहन्छ । किन्नर समुदायकी पात्र पिरतीले आफ्नी हराएकी छोरी अप्सरालाई खोज्न गरेको चरम सङ्घर्ष नै चलचित्रको मूल कथा हो । मातृत्वको भावना उत्कृष्ट रूपमा चलचित्रमा प्रस्तुत गरिएको छ । मातृत्वको अनुभूति लैङ्गिक रूपमा महिलाले मात्रै बढी गर्न सक्छन् भन्ने हाम्रो आमबुझाइ सङ्कुचित रहेछ भन्ने लाग्छ । किन्नर समुदायका व्यक्ति आमा बन्न नसके पनि भावनात्मक रूपमा मातृत्व दिन सक्छन् भन्ने पाटोलाई चलचित्रमा निकै गहिरो रूपमा उजागर गरिएको छ । भावनात्मक संवेदना लैङ्गिकतामा मात्रै आधारित हुँदैन भन्ने दृष्टिकोण चलचित्रको छ ।
तिनीहरूप्रति जङ्गली हात्तीले देखाउने जति संवेदना र सहिष्णुता समाजले देखाउँदैन । चलचित्रमार्फत हाम्रो सामाजिक संरचनामा पछाडि परेको किन्नर समुदायको जीवन सङ्घर्ष, हिजडा भनेर गरिने दुव्र्यवहारलगायतका विविध आयाम बुझ्न सकिन्छ ।
चलचित्रमा कलाकारले जीवन्त अभिनय गरेका छन् । चलचित्रमा अभिनय प्राकृतिक छ । अनावश्यक तामझाम गरिएको छैन । पहिलो पटक चलचित्रमा काम गरेका कलाकारको अभिनय पनि तारिफयोग्य छ । सुरुवातमा दृश्यको लय सहज लाग्दैन तर कथा अगाडि बढ्दै जाँदा स्पष्ट र बलियो बनेको छ । दर्शकलाई अब के होला भन्ने प्रश्नले निकै बलियोसँग बाँध्न चलचित्र सफल भएको छ ।
अविनाशविक्रम शाहको चलचित्र ‘एलिफेन्ट इन दी फग’ १९ औँ एसिया प्यासिफिक स्क्रिन अवाडर्समा तीन विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएको मनोनयन सूची सार्वजनिक गरेको छ ।
‘एलिफेन्ट इन दी फग’ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको एसिया प्यासिफिक स्क्रिन एकेडेमीले जनाएको छ । ‘एलिफेन्ट्स इन दी फग’ ले जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेसँग सहकार्य गरेको छ । अवार्ड अस्ट्रेलियामा अक्टोबर ३० मा हुने छ । ‘एलिफेन्ट्स इन दी फग’ गत शुक्रबारबाट घरेलु बक्स अफिसमा प्रदर्शन भइरहेको छ । यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकाङ्क्षा कार्कीलगायतको अभिनय छ ।
निर्देशक शाहकै पटकथा रहेको चलचित्रमा अविनाशविक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र निर्मातामा नेपालका अनुप पौडेल, फ्रान्सका जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीका माइकल हेनरिक्स रहनुभएको छ । सहनिर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिस्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल हुनुहुन्छ ।
चाल्र्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रका एसोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी तथा अन्डरग्राउन्ड टकिज नेपालका तर्फबाट सहनिर्मातामा प्रवेश गुरुङ, एसोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स हुनुहुन्छ ।