नेपाल

सिरहाको गोलबजार तनावग्रस्त, आन्दोलनमा गणेश यादवको मृत्यु

निषेधाज्ञाकै बिच भएको झडपमा गोली लागेर औरही गाउँपालिका-२, तुलसीपुरका रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ। गोलबजार क्षेत्रमा एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरिएपछि स्थिति थप तनावग्रस्त र नियन्त्रण बाहिर गएको थियो।

लहान । सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा रहेको सिरहा सुपर मार्केट (एबी मल) को भवनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

केही वर्षयता आर्थिक समस्याका कारण बन्द अवस्थामा रहेको सो भवनमा आन्दोलनकारीले आगजनी गरेका हुन्। सुनसरीमा घटेको घटनालाई लिएर बिहीवार बिहानैदेखि आन्दोलनकारी तोडफोड र प्रदर्शनमा उत्रिएपछि जिल्ला सुरक्षा समितिले दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाकै बिच भएको झडपमा गोली लागेर औरही गाउँपालिका-२, तुलसीपुरका रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ। गोलबजार क्षेत्रमा एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरिएपछि स्थिति थप तनावग्रस्त र नियन्त्रण बाहिर गएको थियो।

यसैबिच, लहान नगरपालिकाको सहरी क्षेत्रमा समेत आन्दोलनकारीहरूले विभिन्न पसलहरूमा तोडफोड गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी थप क्षति हुनबाट रोकेको छ। आन्दोलनमा सहभागी अधिकांश युवा २५ वर्षमुनिका, कालो पोसाकमा हातमा लाठी बोकेर नाराबाजी गर्दै आक्रामक रूपमा प्रस्तुत भएका थिए।

घटनाको सम्पूर्ण र विस्तृत विवरण सङ्कलन भइरहेको र थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्