नेपाल

गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्बित

काठमाडौँ । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) को लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम उक्त संस्थाको गतिविधि निलम्बन गरिएको जनाएको हो ।

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिई सञ्चालनमा रहेको एन प्याब्सनले ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी निर्देशन पटक पटक पालना नगरेको तथा संस्थाका पदाधिकारीले स्वीकृत विधान र संस्थाको मूल उद्देश्य विपरीतका कार्य गरेको पाइएको छ ।

सो विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षसँग गत असोज २३ गते छलफल गरी ऐन तथा मन्त्रालयबाट २०८३ मङ्सिर १२ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो ।

सो आग्रहबमोजिम कार्य गरेको नदेखिएकाले ऐनको दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै दफा ६ को उपदफा (२) अनुसार अर्को निर्णय नभएसम्मका लागि संस्थाको गतिविधि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी भएपछि उक्त संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत स्पष्ट पारेको छ । सो सङ्गठनमा विवाद उत्पन्न भएपछि सुवास न्यौपाने र गीता राणा क्षेत्री नेतृत्वका समानान्तर कार्यसमिति सञ्चालित भएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्