नेपाल

कोदारी खण्ड फेरि अवरुद्ध : पन्ध्र मिटर सडक भासियो

सिन्धुपाल्चोक । तीन सातासम्म बन्द भएर खुलेको बाह्रबिसे–कोदारी लोकमार्गकाे कोदारीस्थित ‘इको पहिरो’ सडक खण्डमा पहिरो गएपछि फेरि बन्द भएको छ । तातोपानीस्थित कोदारी खण्ड सडक बिहीबारदेखि सञ्चालनमा आए पनि क्रमिकरुपमा सडक भासिँदै गएपछि पुनः बन्द भएको हो ।

सडक बन्द भएसँगै चीनबाट आयात गरिएका सामान बोकेका मालवाहक कन्टेनर, अन्य सवारी साधन अलपत्र परेका छन् । बाह्रबिसे–तातोपानी सडक खण्डको कोदारीस्थित ‘इको पहिरो’ खण्ड सोमबारदेखि भासिन थालेको थियो । सामान्य वर्षातले पनि सडक भासिन थालेपछि मालवाहक कन्टेनर, अन्य सवारी साधान बन्द भएका छन् । माथिबाट बगिरहेको पहिरो र तल भोटेकोशी नदीको बहावले सडक तान्ने क्रम रोकिएको छैन ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठका अनुसार सडक करिब १५ मिटरभन्दा बढी भासिएको छ । भासिँदै गएको सडक मर्मत सुधार गरिँदैछ । दुई दिनयता कोदारीखण्डमा ठूलो वर्षा भएको छैन ।

इलाका प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक जगतबहादुर राइलेसामान्य वर्षातले सडक भासिँदै गइरहेको जानकारी दिनुभयो । उहाँले हल्का वर्षाले पनि इको पहिरो झर्ने र सडक भासिने भएपछि कन्टेनर, अन्य सवारी साधान आउजाउ रोकिएको बताउनुभयो । चिनियाँ क्षेत्रबाट तातोपानी भन्सार जाँचपासका लागि आएका ३० बढी मालवाहक कन्टेनर अहिले मितेरी पुल, लिपिङ क्षेत्रमा अड्किएका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, सडक डिभिजन कार्यालय चरिकोट, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घ, भोटेकोशी गाउँपालिकालगायत नाका आबद्ध व्यापारिक सङ्घसंस्थाको पहलमा इको पहिरो पन्छाउने कार्य हुँदै आएको थियो । तर सोमबारदेखि सोही सडक खण्ड भासिन थालेपछि कोदारी पारि लिपिङ, मितेरी पुल, रमितेबजार, खासा, न्यालमलगायतका चिनियाँ भूभागमा हजार बढी मालबाहक कन्टेनर रोकिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत तथा भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले बताउनुभयो ।

सडक बन्द भएपछि अहिले सोही खण्डबाट मजदुरलाई बोकाएर फलफूलजन्य र मसलाजन्य वस्तु ओसार्न थालिएको छ । तर कतिपय कन्टेनरका स्याउ, आँप, अङ्गुर, किवी, नास्पाती, लसुन, प्याजलगायतका वस्तु कन्टेनरमै कुहिन र सड्न थालेको पीडा व्यापारी शारदाप्रसाद पराजुलीले सुनाउनुभयो ।

इको पहिरोमाथि घना बस्ती छ । पहिरोमाथि भोटेकोशी गाउँपालिका–२ नम्बरस्थित चौकी डाँडा, गुम्बाडाँडा, मिलनबजार, लालवीर चोक, कोदारी गुम्बा, कुदुङ गाउँ, ताक्पासा, तार्तृृङ गाउँ, क्युसा, छेर्माङ गाउँ, डमार तामाङ गुम्बा लगायतका घना बस्ती छन् । उक्त स्थानमा सयभन्दा बढी घर छन् ।

पहिरोले बस्ती तान्ने जोखिम

त्यसमध्ये ५० घरभन्दा बढीका स्थानीयहरु घर छाडेर राजधानी, बाह्रबिसे बजार लगायतका स्थानमा बस्न थालेका छन् । इको पहिरोले बस्ती तान्ने उच्च जोखिम रहेको सो गापा–२ का अध्यक्ष कुमार श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.