एक्सक्लुसीभ

वीरगञ्ज : ११४ जनामा हैजा पुष्टि

वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझ ६ बजेसम्म ९३ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्। पछिल्लो परीक्षण रिपोर्ट अनुसार एक सय १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर १९९ जना बिरामी उपचाररत छन्। वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी नारायणी अस्पतालमा १०७, नेसनल मेडिकल कलेजमा १८, तराई अस्पतालमा ३७ र वीरगञ्ज हेल्थकेयरमा १९ जना बिरामी उपचाररत छन्।

सर्वोत्तम अस्पतालमा ७, एडभान्स मेडिकेयर अस्पतालमा ३, प्रभु अस्पतालमा १, निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २ र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी उपचाररत छन्।

अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको संख्या चार सय २२ पुगेको छ। जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज हुँदा एक सय ९९ जना उपचाररत छन्।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८, नेसनलमेडिकल कलेजमा १५, भवानी अस्पताल, वीरगञ्ज हेल्थ्यकेयर अस्पताल, मंगलम प्याथोलोजीमा ३/३, अलि अर्थो अस्पताल र एडभान्स मेडिकेयर अस्पतालमा २/२, सर्वोत्तम अस्पताल, नारायणी सेन्ट्रल अस्पताल, नेपाल इण्डो अस्पताल, निलकण्ठ अस्पताल र बयोधा अस्पतालमा एकएक जना झाडापखाला लागेर भर्ना भएका बिरामीमा हैजा पुष्टि भएको छ।

विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालय बन्द गरेको छ। वीरगञ्जमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएको र त्यसको रोकथाम र नियन्त्रणमा जुटेको महानगरपालिकाले विद्यालय थप तीन दिनका लागि बन्द गरेको हो। यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएका विद्यालय मङ्गलबार हरितालिका तीज पर्वको सार्वजनिक बिदाका कारण बन्द थिए।

वीरगञ्ज महानगरपालिकाले हैजाको संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा पानीको नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको छ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका वीरगञ्जमा उपचाररत बिरामीको दिसाको कुल १० नमुनामध्ये ८ नमुनामा हैजाको संक्रमण पुष्टि भएको छ। बाँकी दुई नुमनाको रिपोर्ट भने बुधबार आउनेछ।

प्रयोगशालामा गरिएको कल्चर परीक्षणमा ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा हैजा फैलिरहेको संकेत गरेको उहाँले बताउनुभयो।

उता महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँका अनुसार महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि सहरका नाला, पोखरी तथा पानी जम्ने स्थानमा औषधि छर्ने अभियान बुधबारदेखि सुरु गर्ने भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.