नेपाल

हिमाली, पहाड र तराई देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी सूचनामा आफूलाई नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्