नेपाल

सूर्यदर्शनका पूर्वअध्यक्ष बम्जन १० लाख धरौटीमा रिहा

लेखनाथ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा हुनुभएको छ। सहकारी ठगी अभियोगमा फरार बमजन आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुनुभएको थियो।

अदालतका न्यायाधीश शंकरकुमार राईले बम्जनको थुनछेक बहसपछि १० लाख धरौटी माग गर्ने आदेश गरेको स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो। “१० लाख धरौटी माग गर्ने आदेश भएको छ, धरौटी बुझाएर उहाँ छुट्नु भएको छ,” खनालले भन्नुभयो।

बमजन सूर्यदर्शन सहकारीका मुख्य योजनाकार मानिएका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुनुहुन्छ। बमजनले नै जिबीलाई पोखरा ल्याई सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएको विभिन्न छानबिन समितिका प्रतिवेदनमा उल्लेख छ।

ओखलढुङ्गामै विवाह गरिसक्नुभएका जिबीले बमजनकी बहिनी भगवतीसँग पछि दोस्रो विवाह गर्नुभएको थयो। अदालतमा बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको बयान दिनुभएको छ। बमजनमाथि सहकारीको अध्यक्ष हुँदा एक करोड ५४ लाख ४९ हजार आठ सय ३९ रुपैयाँ अपचलन गरेको अभियोग छ। यो सहकारी एक अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको छ।

सहकारी पीडितले भने फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जानकारी नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भन्नुभयो, “अभियोजनकर्ता नै उपस्थित नभई कसरी बयान भयो ? जाहेरवाला हामी हौं।”

आइतबार अदालतमा सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबी विष्ट र दीपक शर्मा पौडेल र बामजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गर्नुभएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.