नेपाल

सगरमाथामा बेपत्ता शेर्पाको खुम्बु आइसफलबाट सकुशल उद्धार

सोलुखुम्बु । सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता हुनुभएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका पर्वतारोहण गाइड दावा शेर्पाको सकुशल उद्धार गरिएको छ ।

बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधार शिविरतर्फ अत्यन्त कमजोर अवस्थामा घिस्रिँदै ओर्लिरहेको अवस्थामा सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले भेटेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शेर्पा बेपत्ता भएपछि उहाँको खोजीमा बुधबार अल्टिच्युड एयरको हेलिकप्टर त्यस क्षेत्रमा खोजी तथा उद्धारका लागि परिचालन गरिएको भए पनि फेला पार्न सकेको थिएन । हेलिकोप्टरले पाँच हजार दुई सय मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म खोजी गरेको थियो ।

छ दिनमा जीवितै फेला पर्नु आफैँमा चमत्कारिक घटना भएको पर्यटन व्यवसायीहरू बताउँछन् । सात हजार मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमी, अत्यधिक चिसो, हिमआँधी र थकानका बीच लामो समयसम्म बाँच्न सक्नु असाधारण मानिन्छ ।

शेर्पाका हातका औँलामा हिउँका कारण क्षति पुगेको छ र थप उपचारका लागि काठमाडौँ लगिएको छ । शेर्पा सगरमाथा आरोहणबाट फर्किने क्रममा गएको जेठ १५ गते तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन हुनुभएको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्