गौमुलमा पहिरोको त्रास, १४ घरधुरीका ११५ जना सुरक्षित स्थानमा सारिए
बाजुरा।बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि १४ घरधुरीका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार दिउँसोदेखि परेको अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले दुई घर पूर्ण रूपमा पुरिएका हुन्। पहिरोका कारण आसपासका थप १२ घरसमेत उच्च जोखिममा परेपछि विस्थापित दुई घरसहित १४ घरधुरीका परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
उनीहरूलाई स्थानीय देवेन्द्र धामीको खाली जमिनमा त्रिपालको टहरा बनाएर राखिएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कटीगाउँका ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको ढुङ्गा–माटोले बनेको तीनतले घर पहिरोले पूर्ण रूपमा पुरिएको छ।
पहिरोमा पूर्णिमल बोहराको गोठमा रहेका तीन गाई तथा बुदी बोहराको घरमा रहेका दुई गाईसमेत पुरिएका छन्।स्थानीयका अनुसार लगातार वर्षा भइरहेकाले कटीगाउँमा पहिरोको जोखिम अझै कायमै छ। पहिरोबाट घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवाससँगै खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक राहत सामग्री आवश्यक रहेको वडा अध्यक्ष गोरख बोहराले बताउनुभयो।