कोलोराडोमा इन्द्रजात्रा धुम धामले मनाइयो
नातिबाब भट्ट, कोलोराडो। नेपाल मण्डलका आदिवासी नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) अमेरिकाको कोलोराडोमा भब्यताका साथ सम्पन्न भएको छ।
कोलोराडो नेवा: खलः को आयोजनामा आइतबार वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा पाँचौँ संस्करणको इन्द्रजात्रा सम्पन्न भएको हो।
कार्यक्रममा नेवा: समुदायको मौलिक परम्पराअनुसार कुमारी जात्रा, लाखे नाच, पुलुकिसि, सांस्कृतिक झाँकी, नेवा: संगीत, सामयबजी (नेवा: परिकार) तथा मण्डला संगीत समुहको साँगितिक प्रस्तुति लगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहको थियो ।
बोल्डर सिटी मेयर आरोन ब्रकेटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको शुरूमा जीवितदेवी कुमारी, गणेश र भैरवको बिधी पूर्वक पुजागरी रथमा राखी धिमेबाजाको तालमा लाखे, पुलुकिसी संगै नेपाली घरको प्राङ्गण परिक्रमा गराइ कार्यक्रम स्थल पुर्याइएको थियो ।
कार्यक्रमको शुरूमा कोलोराडो नेवा: खलः अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै यसको महत्व बारे प्रकास पारेका थिए ।
यसैगरी उनले कार्यक्रमलाइ सफल बनाउन अहोरात्र खट्ने नेवाः समुदायका सदस्यहरू तथा तन मन र धन प्रदानगरी सहयोग पुर्याउने सबै संघ संस्था, दाता, स्वयंसेवक, कलाकार सबैलाइ धन्यवाद दिएका थिए ।
त्यसैगरी प्रमुख अतिथी बोल्डर सिटी मेयर आरोन ब्रकेटले कार्यक्रमलाइ संम्बोधन गर्दै कला संस्कृति परंपरागत मुल्य र मान्यताले भरिएको इन्द्रजात्रामा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्दै बोल्डर र काठमाण्डौं सिष्टर सिटी रहेको , आफु २ बर्ष अगाडी नेपाल भ्रमणमा जादाको अनुभव सुनाएका थिए ।
प्रश्तोता द्वय अतिशा र संझनाले कुशलता पुर्वक संचालन गरेको कार्यक्रममा धिमेनाच, लाखेनाच, नेवाः संस्कृति झल्कने नृत्य तथा मण्डला ब्याण्डको शुन्दर प्रश्तुती रहेको थियो ।
त्यसैगरी कार्यक्रममा उपस्थित सबैलाइ प्रसाद स्वरूप समयवजी बितरण गरिएको थियो । कार्यक्रममा सहभागी धेरैजसो महानुभावहरू नेवारी परंपरागत पहिरनमा सजिएको हेरिरहदा आफु बसन्तपुर डवलीमा बसी कार्यक्रम हेरी रहेको भान हुन्थ्यो ।
इन्द्रजात्रा केवल एउटा उत्सव मात्र नभई “हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा” हो । विविध संस्कृतिबीच नेपाली र नेवा: समुदायको मौलिक अस्तित्वलाई जीवन्त राख्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको र नेपाली तथा अमेरिकी समुदाय कार्यक्रममा सहभागी भई नेपालको समृद्ध नेवा: संस्कृतिको अनुभव लिएका छन्।
अमेरिका जस्तो बहु सांस्कृतिक समाजमा आफ्ना मौलिक परम्परा र संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न इन्द्रजात्रा जस्ता पर्वहरूको संरक्षण अपरिहार्य रहेको छ ।
नेपाली साँस्कृतिक केन्द्रको प्राङ्गणमा संचालन भएको कार्यक्रममा नेपाली घर , ब्लड डोनर्स अफ अमेरीका लगायतका संघ संस्था इन्सुरेन्स, बैङ्क तथा बिभिन्न किसिमका ब्यवसायका १५ वटा भन्दा बढी स्टलहरू रहेका थिए ।
सहभागीहरू निशुल्क प्रवेशगरी मनोरञ्जन लिनुको साथसाथै प्रसाद स्वरूप समयबजीको स्वाद चाख्न पाएका उक्त कार्यक्रम मध्यान्ह १२ बजे देखी साँझ ५ बजेसम्म संचालन भएको थियो ।
इन्द्रजात्रा नेपालको सबैभन्दा प्राचीन तथा महत्वपूर्ण जात्रामध्ये एक हो। इतिहासकारहरूका अनुसार यसको सुरुवात करिब दशौँ शताब्दीमा काठमाडौंका संस्थापक राजा गुणकामदेवको शासनकालमा भएको मानिन्छ। यही समयदेखि काठमाडौं नगरको स्थापना र नगर सभ्यताको विकाससँगै इन्द्रजात्रा मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।
पौराणिक कथा अनुसार भगवान इन्द्र आफ्नी आमाको लागि पारिजात फूल टिप्न पृथ्वीमा आएका बेला काठमाडौंका बासिन्दाले उनलाई चोर ठानेर बाँधे। पछि उनको वास्तविकता थाहा पाएपछि सम्मानपूर्वक मुक्त गरियो। त्यस घटनाको स्मरणमा इन्द्रजात्रा मनाउने परम्परा बसेको मानिन्छ।
नेवा: समुदायले सदियौँदेखि भाषा, साहित्य, मूर्तिकला, वास्तुकला, संगीत, जात्रा, गुठी प्रणाली तथा सामुदायिक जीवनशैलीमार्फत नेपालको सभ्यता निर्माणमा अतुलनीय योगदान पुर्याउँदै आएको छ। इन्द्रजात्रा यिनै सम्पूर्ण सांस्कृतिक मूल्य र जीवनदर्शनको उत्सव हो।
कोलोराडो नेवा: खलःले अमेरिकामा जन्मिएका तथा हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष इन्द्रजात्रा आयोजना गर्दै आएको छ।
संस्थाले नेवा: संस्कृति संरक्षण, शैक्षिक कार्यक्रम, सामुदायिक एकता र नेपाल तथा विश्व समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने कार्य गर्दै आएको छ।
नेपालको हजारौँ वर्ष पुरानो सभ्यता र सांस्कृतिक धरोहरलाई अमेरिकाको भूमिमा पुनर्जीवित गर्दै कोलोराडोमा आयोजित पाँचौँ इन्द्रजात्रा केवल एउटा जात्रा मात्र नभई, आफ्ना जरा, पहिचान र संस्कृतिसँग जोडिने एक साझा उत्सव बन्ने विश्वास गरिएको छ।