नेपाल

मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव घट्यो

लमजुङ। वर्षाका कारण मस्र्याङ्दी नदी बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ ।

“अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उहाँले भन्नुभयो, “तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।”

यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मस्र्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।

यद्यपि आइतबार एक निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मस्र्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ ।

पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्