डायस्पोरा
बाढीपीडितका लागि युनाइटेड शेर्पा एसोसिएसनद्वारा ४६ लाख रुपैयाँभन्दा बढी हस्तान्तरण
कोलोराडो। युनाइटेड शेर्पा एसोसिएसन अफ कोलोराडोले नेपालका बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार ४ सय ६ अमेरिकी डलर (करिब ४६ लाख ४३ हजार ४ सय २७ रुपैयाँ) जम्मा गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिमा सहयोग गर्नु दायित्व ठानेर राहत रकम सङ्कलन गरिएको एसोसिएसनका अध्यक्ष ल्हाक्पा शेर्पाले बताएका छन्।
बाढी प्रभावितहरूको सहयोगका लागि एसोसिएसनले दुई सातासम्म अभियान सञ्चालन गरेको थियो। सोही अभियानबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
विपद्को यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति उनले आभार व्यक्त गरेका छन्। अध्यक्ष शेर्पाले भने, ‘सहयोग रकमले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास लिएको छु।’