भोटेकोशी बाढीले दिएको पीडाको गीत ‘ए नदी, ए हिमाल’
काठमाडौं। भदौ १० गतेको त्यो बिहान, जब भोटेकोशीमा उर्लिएको बाढीले घर मात्रै होइन, मानिसका भरोसा, स्मृति र भविष्यसमेत बगायो। त्यही त्रासदीको प्रतिध्वनि बनेर आएको छ डीडी पन्तको गीत—‘ए नदी ए हिमाल’।
घाम लागेको बिहान थियो। आकाश पनि नीलै थियो‘उक्त गीतका शुरुवाती बोल हुन् शब्दहरु। यी शब्दहरुले मानिसहरुको स्वाभाविक दैनिकी र प्रकृतिसँग उसको अन्तरक्रियाको पृष्ठभूमि दर्शाउँछ । मानिसहरू आफ्ना दैनिक काममा थिए। कसैका लागि रोजीरोटीको दिन थियो, कसैका लागि यात्राको, कसैका लागि परिवारसँगको सामान्य बिहान। तर केहीबेरमै त्यो सामान्य दृष्य एकाएक क्षतविक्षत भएर च्यातियो।
२०८३ भदौ १० गतेको बिहान भोटेकोशी नदीमा आएको विनाशकारी हिमाली सुनामीले नेपालले पछिल्ला वर्षहरूमा देखेको सबैभन्दा भयावह मानवीय विपत्तिमध्ये एक बन्यो । नदी किनारका बस्ती, बजार, सडक, पुल, निर्माणस्थल र मानिसका वर्षौंका श्रम एकैछिनमा माटो, ढुंगा, पानी र भग्नावशेषको कथा बने। भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म बगेको विपत्तिले आफ्नो बाटोमा विध्वंशसँगै हजारौँको अकाल मृत्यु र बेपत्ताको कहालीलाग्दो कथा छोडेर गयो।
भोटेकोशी विपत्तिपछि शव खोज्ने दृश्यहरू नेपालले लामो समयसम्म बिर्सन नसक्ने दृश्य बन्यो । भोटेकोशीको बाढीले धेरै कुरा बगाएर लग्यो। तर धेरै प्रश्नहरू छाडेर गयो।