नेपाल

सानीभेरी जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । 

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप दुई जना घाइतेलाई लिन हेलिकप्टर आउँदै छ ।

अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । “जिपमा चालकसहित १३ जना सवार रहेका अनुसन्धानका क्रममा जानकारी भएको छ । यसअघि ११ जना सवार रहेका भन्ने प्रारम्भिक सोधपुछका क्रममा सूचनामा प्राप्त भएकामा अनुसन्धानलाई तीव्र बनाउँदै सम्बन्धित निकायमा सोधपुछ गर्दा यात्रुको सङ्ख्या १३ रहेको जानकारी पाएका छौँ”, प्रहरी नायब उपरीक्षक पौडेलेले भन्नुभयो । उहाँका अनुसार जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन ।

सानीभेरी गाउँपालिका-६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु१च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको थियो । जिप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्