बाढीका कारण ताप्लेजुङमा पाँच दिनदेखि यातायात सेवा अवरुद्ध
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला, आठराई त्रिवेणी र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोलामा आएको बाढीका कारण पाँच दिनदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।
खोलामा बाढीले मोटरेवल पुल र सडकमा क्षति गरेका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
गत सोमबार राति आएको बाढीले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु र मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा जोड्ने मैवाखोलाको मोटरगुड्ने पुलमा क्षति गरेको छ ।
तमोर कोरिडोर सडकअन्तर्गत सान्थाक्रातर्फ पुलको जिपमा बाढीले क्षति गरेपछि यातायात सेवा ठप्प भएको मैवाखोला गाउँपालिका–१ का वडाध्यक्ष चद्रकुमार तामाङले जानकारी दिनुभयो ।
वडाध्यक्ष तामाङका अनुसार मैवाखोलामा रहेको मोटरेवल पुलको जिपसँगै सान्थाक्रा–खाम्लुङ दोभान बजारतर्फ करिब डेढ सय मिटर सडक संरचनामा समेत बाढीले क्षति गरेका कारण यातायात सेवा ठप्प भएको हो ।
बाढीले मोटरेवल पुल र सडकमा क्षति गरेपछि सदरमुकाम फुङ्लिङसँग आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सडक सम्पर्क टुटेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
उहाँका अनुसार सडक सम्पर्क विच्छेद भएपछि आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाका नागरिक पाँच दिनदेखि झोलुङ्गे पुलको प्रयोग गरेर आउजाउ गर्न बाध्य भएका छन् । सिधा यातायात सेवा उपभोग गर्न नपाउँदा आठराई त्रिवेणी र मैवाखोलाका नागरिकलाई यतिबेला निकै सास्ती भएको उहाँको भनाइ छ ।
यता मैवाखोलामा आएको बाढीले क्षति गरेको मोटरेवल पुल र सडकको मर्मत कार्य भने भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।
तमोर कोरिडोरको फूलबारी–हाङ्पाङ–खाम्लुङ दोभान सडक खण्डको निर्माण गरिरहेको लामा कन्स्ट्रक्सनले बाढीले क्षति गरेको पुल र सडक मर्मतको काम गर्दै आएको उहाँले बताउनुभयो । उक्त मोटरेवल पुल र सडक मर्मत नभएसम्म यातायात सेवा सुचारु (नियमित) नहुने पनि उहाँको भनाइ छ ।