नेपाल

ड्याम फुट्न सक्ने जोखिमका कारण उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

गाईघाट। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ स्थित हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएपछि बनेको ताल (ड्याम) फुट्न सक्ने जोखिम बढेपछि उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बुधबार बिहान करिब ७ बजे हुङ्गा खोलामा ठुलो पहिरो खसेर नदी थुनिएको र करिब एक सय मिटर लामो तथा १५ मिटर गहिरो ताल (ड्याम) बनेको जानकारी प्राप्त भएकोले तटीय क्षेत्रमा सतर्कता गरिएको हो ।

उहाँका अनुसार ड्याम फुटेमा दुधकोशी हुँदै सुनकोशी नदीको बहावसमेत प्रभावित हुन सक्ने भएकाले उदयपुरका विभिन्न नदी तटीय क्षेत्र र बस्तीमा नदीको पानीको सतह अचानक बढ्न सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका अन्तर्गतका दुधकोशी तथा सुनकोशी नदी आसपासका तटीय क्षेत्रमा जोखिम हुनसक्ने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई माछा मार्ने, पौडी खेल्ने, दाउरा तान्ने तथा अन्य कुनै पनि प्रयोजनका लागि नदी किनारतर्फ नजान अनुरोध गरेको छ ।

प्रहरीले नदी किनारमा रहेका स्थानीय तह, समुदाय तथा आम नागरिकलाई नदीको पानीको सतह र सम्भावित बाढीसम्बन्धी सूचना निरन्तर लिइरहन तथा कुनै असामान्य अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्