पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने
काठमाडौं । पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियसिप नेपालमा हुने भएको छ । ई स्पोट्र्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलको आयोजनामा सञ्चालन हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ ।
चार दिने ल्यान प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ । ईशानका सचिव आशिष दाहाल र पब्जी मोबाईलको तर्फबाट ई स्पोट्र्स काउन्टिका ग्लोबल स्पोट्र्स हेड इमाम हुसेन अफरिदीले कार्यक्रम आयोजना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा दक्षिण एसियाका १६ पब्जी टिमले ग्लोबल छनोट हुने लक्ष्य सहित ४० हजार अमेरिकी डलर प्राइज पुलका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी १६ टिम सहभागी हुनेछन् ।
नेपालबाट आमन्त्रित टिमको रुपमा होरा ई स्पोट्र्स सहित टीटूके, हिडन लिफ ई स्पोट्र्स र द गेमिङ ब्रोस्किजले प्रतियोगितामा चुनौती पेश गर्नेछन् । प्रत्येक दिन ६ गरी चार दिनमा २४ वटा खेल हुनेछन् ।
ईशानका सचिव दाहालले पब्जी मोबाईलको राष्ट्रिय प्रतियोगिताको सफल आयोजना पश्चात ग्लोबल ओपनको अन्तराष्ट्रिय कार्यक्रम नेपालमा हुन लागेको बताए ।
पब्जी मोबाईलका तर्फबाट ग्लोबल ई स्पोट्र्स हेड अफरिदीले ई स्पोट्र्स अन्तर्गत पब्जीको लोकप्रियताले ग्लोबल ईभेन्टका लागि नेपाल उपयुक्त थलो बनेको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सञ्चालन हुने पब्जी मोबाईलको अन्तराष्ट्रिय प्रतियोगितालाई ईशानले नेपालमा प्रबद्र्धन गरेको हो ।