गोरखामा त्रिशूली किनारबाट हालसम्म ७५ शव सङ्कलन
गोरखा। रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा शरीरका अङ्गहरू गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। भदौ १० गतेदेखि भदौ २३ गते मङ्गलबार बिहान ६ बजेसम्म त्रिशूली नदी किनारमा ७५ वटा शव तथा मानव अङ्ग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा अङ्गभङ्ग भएको अवस्थामा शवहरू फेला पारेको डिएसपी श्रेष्ठले बताउनुभयो। हालसम्म फेला परेका ७५ वटा शवमध्ये ६६ वटाको व्यवस्थापन गरिसकिएको छ भने ६ वटा शव पहिचान भई परिवारलाई जिम्मा लगाइएको छ। शरीरमा ट्याटु रहेका र पहिचान हुन सक्ने अवस्थाका ३ वटा शव भने प्रादेशिक अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ।
त्रिशूली नदी किनारमा शव व्यवस्थापन तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र जनप्रतिनिधिको टोली निरन्तर खटिरहेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गण्डकी गाउँपालिका–८ को धवादीघाट, वडा नं ६ को भूम्लिचोक, वडा नं १ को बुट्टार, वडा नं ४ को ठेउवाटार, वडा नं ७ को ज्यामिरेघाट तथा सहिद लखन गाउँपालिका–४ को सिलिङटारस्थित त्रिशूली नदी किनारमा यी शवहरू फेला परेका हुन्।
सम्बन्धित प्रहरी युनिटहरूले फेला परेका शव तथा मानव अङ्गहरू सुरक्षित रूपमा सङ्कलन गरी थप अनुसन्धान अघि बढाएका छन्। विगत १३ दिनदेखि त्रिशूली नदी किनारमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइँदै आएको प्रहरीले जनाएको छ।