नेपाल

सल्यान–दाङ सडकखण्ड १३ घण्टापछि खुल्यो

सल्यान । अविरल वर्षापछि पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध भएको राप्ती लोकमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्ड करिब १३ घण्टापछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भएको अवरोधमध्ये मुख्य दुई स्थानको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कपुरकोट गाउँपालिका–५, खारखोलामा सोमबार राति ८ः५० बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक मङ्गलबार बिहान १०ः१३ बजे खुलेको हो । सडक खुले पनि उक्त स्थानमा साना सवारीसाधनका लागि मात्रै आवागमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा पनि सोमबार राति ८ः५० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा मंगलबार बिहान ९ः१३ बजे सडक सञ्चालनमा आएको हो ।

लगातारको वर्षाका कारण राप्ती लोकमार्गको सल्यान–दाङ खण्डमा पटकपटक पहिरो खस्दै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले बीच बाटोमै सास्ती खेप्दै आएका छन् । खारखोलामा गएको पहिरोमा परी गएराति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्