काभ्रे मण्डनदेउपुरका पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता
बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार ६८ वर्षीय केदारनाथ पराजुली र उहाँकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका हुन् ।
पराजुली दम्पतीले बुधबार साँझ करिब ६:३० बजेको समयमा भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिरछेउबाट नदीमा हामफालेको प्रहरीले जनाएको छ। पराजुलीकी श्रीमती तिलकुमारी बोनम्यारो क्यान्सर भई शारीरिक रूपमा अशक्त हुनुभएकाले सोही कारण दम्पतीले नदीमा हामफालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरी नायब उपरीक्षक विष्टले घटनालगत्तै प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली खटिएर खोजी गरे पनि साँझसम्म फेला पार्न नसकिएको जानकारी दिनुभयो। बेपत्ता दम्पतीको खोजीका लागि सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।