एक्सक्लुसीभ

उमेरले ७३ वर्ष पार गरेका तिलबहादुरको भैँसीको हेरचाहमा प्रेरणादायी लगाव

“पशुपालनबाट दूध, मासु र प्राङ्गारिक मल उत्पादन हुन्छ । खेतीका लागि मल अपरिहार्य छ । त्यसैले कृषिलाई दिगो र उत्पादनमुखी बनाउन पशुपालन नगरी हुँदैन”

कास्की । उमेरले ७३ वर्ष पार गरिसकेको छ । अधिकांश मानिस विश्रामको जीवन रोज्ने उमेरमा रुपा गाउँपालिका–६, भोर्लेका तिलबहादुर खड्का भने बिहानदेखि बेलुकासम्म गाई-भैँसीको हेरचाह, घाँस व्यवस्थापन, दूध उत्पादन र फार्म सञ्चालनमै व्यस्त देखिन्छन् । दुई दशकभन्दा बढी समय शिक्षण पेसामा बिताएर पेन्सन जीवन सुरु गरेपछि पनि उनी घरमा निष्क्रिय बसेनन् । बरु कृषिलाई आत्मनिर्भर र सम्मानित पेसाका रूपमा स्थापित गर्ने उद्देश्यका साथ पशुपालनलाई आफ्नो मुख्य व्यवसाय बनाए ।

विक्रम संवत् २०७१ सालमा स्थापना गरिएको देउराली गाई फार्म आज रुपा गाउँपालिकाकै सबैभन्दा ठूलो व्यावसायिक पशुपालन फार्मका रूपमा परिचित बनेको छ । करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा हाल १११ वटा गाईभैँसी पालिएका छन् । दैनिक ३५० लिटरभन्दा बढी दूध उत्पादन हुने यस फार्मबाट उत्पादित दूध पोखराका विभिन्न डेरी तथा उपभोक्तासम्म पुग्ने गरेको छ ।

खड्काले फार्ममा हालसम्म ४ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा उनले दुईवटा डेरीसमेत सञ्चालन गरेका छन्, जहाँ प्रतिलिटर १२० देखि १४० रुपैयाँसम्ममा दूध बिक्री हुने गरेको छ । यस व्यवसायबाट उनी मात्र आत्मनिर्भर बनेका छैनन्, १० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।

उनका अनुसार पशुपालन केवल दूध उत्पादनका लागि मात्र होइन, समग्र कृषि प्रणालीको मेरुदण्ड हो । “पशुपालनबाट दूध, मासु र प्राङ्गारिक मल उत्पादन हुन्छ । खेतीका लागि मल अपरिहार्य छ । त्यसैले कृषिलाई दिगो र उत्पादनमुखी बनाउन पशुपालन नगरी हुँदैन” उनी भन्छन् ।

यद्यपि, सफल व्यवसाय सञ्चालनका क्रममा केही चुनौतीहरू पनि छन् । वर्षायाममा फार्मसम्म पुग्ने सडक हिलाम्य हुने भएकाले घाँस ल्याउन र दूध बजारसम्म पुर्‍याउन निकै कठिन हुने गरेको उनी बताउँछन् । घाँस काट्ने तथा पशु दाना उत्पादन गर्ने आधुनिक मेसिन उपलब्ध भए श्रम, समय र लागत दुवै घट्ने भएकाले स्थानीय सरकारले त्यस्ता उपकरण उपलब्ध गराइदिनुपर्ने उनको आग्रह छ ।

यसैबीच गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भीमबहादुर कार्कीले देउराली गाई फार्मको अनुगमन तथा निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री कार्कीले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउने उद्देश्यले प्रदेश सरकारले विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको बताए ।

उनले पशुपालन व्यवसायमा देखिएका समस्या बुझ्दै सरकारले पशु बीमा, रोगको उपचार, औषधि तथा प्राविधिक सेवा विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिए । कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र आम्दानी बढाउने नीति प्रदेश सरकारको रहेको उनको भनाइ थियो ।

मन्त्री कार्कीले तिलबहादुर खड्काको निरन्तर मेहनत र समर्पणको प्रशंसा गर्दै भने, “उहाँजस्ता कृषक नै आजका प्रेरणाका स्रोत हुनुहुन्छ । गाउँ खाली हुने, युवा विदेशिने क्रम रोक्न यस्ता सफल कृषकका अनुभवले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले कृषि र पर्यटनलाई सँगसँगै विकास गर्ने नीति लिएको बताए । पालिकाभित्र हाल ९ वटा व्यावसायिक पशुपालन फार्म सञ्चालनमा रहेकामा देउराली गाई फार्म सबैभन्दा ठूलो रहेको उनले जानकारी दिए ।

स्थानीय तह, प्रदेश सरकार र कृषकबिचको सहकार्यले रुपा गाउँपालिकामा व्यावसायिक पशुपालन विस्तार हुँदै गएको छ । तिलबहादुर खड्काजस्ता अनुभवी कृषकले उमेरलाई होइन, इच्छाशक्ति र मेहनतलाई सफलता प्राप्तिको आधार बनाएका छन् । उनको देउराली गाई फार्म आज व्यावसायिक पशुपालनको सफल नमुना मात्र नभई कृषि पेसाप्रति सम्मान, आत्मनिर्भरता र स्वदेशमै सम्भावना खोज्ने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्