नेपाल

सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका उत्तमसिंह कार्कीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।

शनिबार विश्वविद्यालयको दोस्रो तलाबाट हामफालेर गम्भीर घाइते हुनुभएका बेदकोट नगरपालिका–४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार शनिबार विश्वविद्यालयमा स्नातक तह होटल व्यवस्थापन (बिएचएम) प्रथम सेमिस्टरको प्रवेश परीक्षा दिएपछि कार्कीले दोस्रो तलाबाट हामफाल्नुभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शनिबार बिहान ८:१५ बजेदेखि सुरु भएको प्रवेश परीक्षामा सहभागी भई ९:१५ बजे कक्षाकोठाबाट बाहिर निस्कनुभएका कार्कीले भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफाल्नुभएको थियो।

घटनालगत्तै एम्बुलेन्समार्फत गम्भीर घाइते कार्कीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिनुभयो।

मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा हुनुहुन्छ। उहाँले वैजनाथ माध्यमिक विद्यालयबाट माध्यमिक तह (प्लस टु) उत्तीर्ण गर्नुभएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्