एक्सक्लुसीभ

रुपा गाउँपालिकाले आयोजना गरेको दोस्रो कोदो रोपाइँ महोत्सव सम्पन्न

“कोदो केवल परम्परागत अन्न मात्र होइन, यो पोषण, स्वास्थ्य र आयआर्जनसँग जोडिएको महत्वपूर्ण बाली हो,“ मन्त्री कार्कीले भन्नुभयो, “यसबाट हलुवा, सातु, ढिँडो, सेल रोटी, बिस्कुट, केक, कुकीज, पाउरोटी, मःमदेखि घरेलु पेय पदार्थसम्म उत्पादन गर्न सकिन्छ । मूल्य अभिवृद्धि गरेर बजारमा पुर्‍याउन सके कृषकको आम्दानी उल्लेख्य रूपमा बढाउन सकिन्छ ।”

कास्की । “कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ राष्ट्रिय कोदो दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले आयोजना गरेको दोस्रो कोदो रोपाइँ महोत्सव–२०८३ सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा वडा नं. ६ र चिसापानी कृषक समूहको समन्वयमा आयोजित महोत्सवले रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि, बजारीकरण, पोषण सुरक्षा तथा कृषि पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

महोत्सवमा कोदो रोपाइँसँगै कोदोका १३ जातको ब्लक प्रदर्शन, कोदोबाट बनेका विभिन्न परिकारको प्रदर्शनी, स्थानीय सांस्कृतिक प्रस्तुति, भजन–चुट्का तथा कृषकहरूको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

महोत्सवको उद्घाटन गर्दै भीमबहादुर कार्कीले कोदो नेपाली समाजको परम्परागत तथा बहुपोषणयुक्त खाद्यान्न भए पनि यसको महत्व समयसँगै ओझेलमा परेको बताउनुभयो । उहाँले विगतमा ग्रामीण जीवनको मुख्य खाद्यान्नका रूपमा रहेको कोदो अहिले आधुनिक खानपानको प्रभावका कारण पछाडि परेको उल्लेख गर्दै यसको संरक्षण र व्यवसायीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

“कोदो केवल परम्परागत अन्न मात्र होइन, यो पोषण, स्वास्थ्य र आयआर्जनसँग जोडिएको महत्वपूर्ण बाली हो,“ मन्त्री कार्कीले भन्नुभयो, “यसबाट हलुवा, सातु, ढिँडो, सेल रोटी, बिस्कुट, केक, कुकीज, पाउरोटी, मःमदेखि घरेलु पेय पदार्थसम्म उत्पादन गर्न सकिन्छ । मूल्य अभिवृद्धि गरेर बजारमा पुर्‍याउन सके कृषकको आम्दानी उल्लेख्य रूपमा बढाउन सकिन्छ ।” मन्त्री कार्कीले प्रदेश सरकारले कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्न विभिन्न नीति तथा कार्यक्रम लागू गरिरहेको बताउनुभयो ।

पालिका अध्यक्ष नवराज ओझाले रैथाने बाली संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । गाउँपालिकाका सबै वडामा कोदो खेती विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उहाँले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य भइरहेको बताउनुभयो ।

वक्ताहरूले रैथाने बालीको संरक्षण केवल कृषि उत्पादनसँग मात्र सम्बन्धित नभई जैविक विविधता, पोषण सुरक्षा, सांस्कृतिक सम्पदा तथा ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्नुभयो ।

रुपा गाउँपालिका–६ चिसापानीस्थित कृषक नरबहादुर गुरुङको ११ रोपनी क्षेत्रफलमा सामूहिक रूपमा कोदो रोपाइँ गरिएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्