आठ बस्तीका लागि दुई धारा मात्रै, मुगुको भिईमा पानीको संकट
खानेपानी अभावका कारण स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। सरसफाइ, स्वास्थ्य तथा पशुपालनमा समेत यसको प्रत्यक्ष असर परेको स्थानीय बताउँछन्। विद्यालय जाने बालबालिका र ज्येष्ठ नागरिकले समेत पानी अभावका कारण थप सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ।
मुगु । मुगुको पश्चिमी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–३ भिईका आठ वटा बस्तीमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम गमगढीबाट करिब दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रमा पर्याप्त खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी रातभर पालो कुरेर पानी संकलन गर्न बाध्य छन्।
स्थानीयका अनुसार गाउँका अधिकांश खानेपानीका मुहान सुक्दै गएपछि हाल आठ वटा बस्तीका करिब ३२० भन्दा बढी घरधुरीले जम्मा दुई वटा धारामै भर पर्नुपरेको छ। एउटै धाराबाट पानी भर्न घण्टौं पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।
स्थानीय समाजसेवी दलबहादुर कार्कीका अनुसार यस वर्ष पर्याप्त वर्षा नहुँदा खानेपानीका मुहान झन् सुक्दै गएका छन्। “पानीका स्रोत घट्दै जाँदा दैनिक उपभोगका लागि समेत पानी जुटाउन निकै कठिन भएको छ। रातभर पालो कुरेपछि मात्र बिहानका लागि आवश्यक पानी संकलन गर्न सकिन्छ,” उनले बताए।
खानेपानी अभावका कारण स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। सरसफाइ, स्वास्थ्य तथा पशुपालनमा समेत यसको प्रत्यक्ष असर परेको स्थानीय बताउँछन्। विद्यालय जाने बालबालिका र ज्येष्ठ नागरिकले समेत पानी अभावका कारण थप सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ।
स्थानीयवासीले दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्न नयाँ मुहानको संरक्षण, लिफ्ट खानेपानी योजना तथा अन्य उपयुक्त खानेपानी आयोजना तत्काल सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।