एक्सक्लुसीभ

मुगुको गमगढी बजारमा नौ दिनदेखि खानेपानीको हाहाकार

मुगु। जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् । खानेपानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन समस्या भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढाका अनुसार लगातार नौ दिनसम्म खानेपानी नआउँदा बालबालिकालाई शौचालय प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइ गर्न समस्या भएको छ । सदरमुकामजस्तो ठाउँमा लामो समयसम्म खानेपानीको समस्या हुँदा पनि सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको उहाँले गुनासो गर्नुभयो ।

खानेपानीको अभावमा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छायानाथ रारा नगरपालिका–९ की कक्षा ६ मा अध्ययनरत छात्रा विजय रोकायाले बताउनुभयो । उहाँले गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मर्मत तथा व्यवस्थापनको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनुभयो ।

गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लका अनुसार ताल्चामा गएको सुख्खा पहिरोले करिब ५० मिटर खानेपानीको पाइप बगाएपछि मर्मत कार्य भइरहेको छ । पाइप मर्मतमा समय लागेकाले सदरमुकाममा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।

खानेपानीको नियमित आपूर्ति नहुँदा बजारमा बसोबास गर्ने नागरिकसँगै बाहिरबाट सेवा लिन आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् । पानीको अभावले दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । होटल तथा चिया पसल सञ्चालन गर्ने व्यवसायी, विद्यार्थी, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खानेपानीको समस्या तत्काल समाधान गरी आपूर्ति सुचारु गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार मर्मत कार्य सकेर खानेपानी तत्काल सञ्चालन गर्न पहल भइरहेको छ ।

स्थानीयवासीले खानेपानी आपूर्ति तत्काल सुचारु गर्न, वितरण प्रणाली व्यवस्थित बनाउन तथा आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन योजना बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्