नेपाल

शेरबहादुर सार्की, बाजुरा। बाजुराका खोला किनारका बस्तीहरू वर्षायाममा बाढी–पहिरोको उच्च जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीको तलतर्फ बाढी र माथितर्फ पहिरो जाने–आउने समस्याका कारण यहाँका स्थानीयलाई वर्षाको समयमा बाढी–पहिरोको चिन्ता रहने गरेको हो ।

हिउँदका दिनमा निर्धक्क भएर बसोवास गर्ने गरे पनि वर्षायाममा बाढी–पहिरोको डर रहने गरेको खप्तड छेडेदह गाउँपालिका–६ गुम्ला गाउँका पदम रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ नजिक पहिरो पुगेको छ । त्यसले प्रत्येक वर्ष बस्तीलाई जोखिममा पार्दै गएको छ । हिउँदमा केही हुँदैन, तर वर्षायाम सुरु भएपछि पहिरो चल्न थाल्छ, त्यतिबेला बस्तीमा डर हुन्छ ।”

असारदेखि साउन–भदौसम्म बढी पानी पर्ने समयमा राति सुतेका बेला कतिबेला पहिरोले बस्ती बगाउने हो भन्ने ठुलो डर हुने गरेको रावतले बताउनुभयो ।

यहाँका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका झण्डै १३५ भन्दा बढी गाउँबस्ती पछिल्लो समय बाढी–पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षायाममा तलतर्फबाट बाढी र माथितर्फबाट पहिरो आउने हुँदा ती बस्तीका स्थानीयलाई निरन्तर चिन्ता हुने गरेको छ ।

बुढीगङ्गाका अम्कोट, बजेडी, निमोनीस त्रिवेणीका मौरे, छतारास खप्तड छेडेदह गाउँपालिकाका गाज्रा, धनाल्ट, पार्तोला, गुइबन, पाटा, सुदारास बडीमालिकाका ओलेना, राप्का, भौनेरा, बीरे खोला, रजातोलीस बुढीनन्दाका साउनेगाउँस जगनाथको पीलिचौरस स्वामिकार्तिक खापरको साप्पाटा, माझीगाउँ, मुक्तीकोटस र हिमालीको विच्छ्या, मैर्तना, बोल्ढीक लगायतका बस्तीहरू बाढी–पहिरोको उच्च जोखिममा परेका छन् ।

यी जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्न स्थानीयवासीले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएका छन् । वर्षा लाग्दा बस्ती स्थानान्तरणको कुरा उठ्ने र हिउँद लागेपछि त्यो प्रक्रिया रोक्ने प्रवृत्ति देखिएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले स्थानान्तरण गर्नुपर्ने बस्तीहरूको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको बताउनुभयो ।

त्यस्तै, हिमाली गाउँपालिकाको विच्छ्या र बडीमालिकाको रजाली बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरिन्द्र निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ भूकम्पपीडित पनि धेरै छन् । उनीहरूका लागि टहरा व्यवस्थापन गर्न गत वर्ष केही रकम वितरण गरिएको थियो । सो रकमबाट हिमाली, गौमुल र त्रिवेणीका केही परिवारले टहरा बनाएर बसोवास गरेका छन् ।”

बस्ती स्थानान्तरणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले गृह मन्त्रालयमा थप प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्