सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा सडक अवरुद्ध भएका छन् । कर्णाली प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार अविरल वर्षा, बाढी, सुख्खा पहिरो तथा सडक मर्मतका कारण दैलेख, कालिकोट, हुम्ला र रुकुम पश्चिममा सडक अवरुद्ध भएका हुन् ।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–२ पातलखोला नजिकको सेतोभीरमा बाटोमै सवारी साधन बिग्रिएर फसेपछि सडक आवागमन ठप्प भएको छ ।
त्यस्तै, कर्णाली करिडोरअन्तर्गत कालिकोटको पचालझरना गाउँपालिका–६ घताचौरमा सवारी साधन हिलोमा फसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कर्णाली करिडोरअन्तर्गत नै हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार भेरी करिडोरअन्तर्गत पहिरोका कारण रुकुम पश्चिमबाट डोल्पा जाने सडक पनि अवरुद्ध भएको छ ।
वर्षायाममा मुख्य राजमार्ग तथा करिडोरमा हुने अवरोधका कारण यातायात सेवा प्रभावित भएका छन् । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट पहल भइरहेको जनाइएको छ ।
वर्षायाममा मुख्य राजमार्ग तथा करिडोरमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ ।