मनोरंजन

‘शिक्षा प्रणालीको कठोर वास्तविकतालाई चलचित्र ‘रोल नं १’मा हेर्न सकिन्छ’

काठमाडौँ । विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, उनीहरूमाथि हुने अथाह दबाब, गरिबी र नेपालको शिक्षा प्रणालीको कठोर वास्तविकतालाई चलचित्र ‘रोल नं १’ ले पर्दामा उतारेको छ। चलचित्रको कथाले आफ्नो सन्तान विद्यालयमा उत्कृष्ट होस् भन्ने चाहना राख्ने एउटा गरिब बुवा र सरकारी छात्रवृत्तिमा पढेर बुवाको सपना पूरा गर्न खोज्ने बालकको भावनात्मक सङ्घर्षलाई चित्रण गर्छ।

स्कुले शिक्षाको महत्त्व र हालको मूल्याङ्कन विधिले बालबालिकाको मनोविज्ञानमा पारिरहेको असरलाई चलचित्रमा पेचिलो ढङ्गले प्रस्तुत गरिएको छ। चलचित्रको प्रमुख पात्रका रूपमा मुकुन भुसाल (सञ्चार परियार) देखिनुभएको छ। बुवाले आफ्नो सन्तानको रुचि नबुझ्दा अभिभावक र सन्तानबिच उत्पन्न हुने समस्या नै चलचित्रको मुख्य विषय हो।

म्याग्दीको विकट गाउँमा बस्ने सञ्चार परियारको काम दमाहा बजाएर सूचना दिने हुन्छ। उनको परिवारमा श्रीमती सरस्वती (रेनुनाथ योगी) र छोरा ज्ञाने (निर्भीक रेग्मी) छन्। ज्ञाने सौतेनी छोरा भए पनि सरस्वतीले उनलाई आफ्नै सन्तान झैँ हुर्काउनुभएको हुन्छ। तर, एक दुःखद घटनामा समयमै अस्पताल पुर्‍याउन नसक्दा नवजात शिशुको मृत्यु भएपछि दम्पतीबिच तिक्तता बढ्छ र सरस्वतीको ज्ञानेप्रति हेर्ने दृष्टिकोण पनि फेरिन्छ।

सञ्चारले आफ्नो छोरालाई जसरी पनि विद्यालयमा ‘रोल नं १’ बनाउने धुनमा अनेकौँ प्रयत्न गर्नुहुन्छ। छोरालाई प्रथम बनाउन उहाँ प्रश्नपत्र चोर्नसमेत पछि पर्नुहुन्न। यता ज्ञानेको रुचि भने पढाइमा भन्दा गाउँका बेगम बाजे (सुवास गजुरेल) सँग काठको काम सिक्नमा बढी हुन्छ। गाउँलेले ‘काम नलाग्ने’ भनेका बाजेबाट ज्ञानेले सीप सिक्छ। के ज्ञाने विद्यालयमा प्रथम होला? सञ्चार र सरस्वतीको सम्बन्ध कसरी अगाडि बढ्ला? र, रोल नं १ बन्न नसके पनि ज्ञाने कसरी ‘गाउँको हिरो’ बन्छ भन्ने नै चलचित्रको मूल सार हो।

अभिनयका दृष्टिले मुकुन भुसाल र बाल कलाकार निर्भीक रेग्मीको काम तारिफयोग्य र जीवन्त छ। रेनुनाथ योगी, सुवास गजुरेल, लोकेन्द्र लेखक, शङ्कर आचार्य, देशभक्त खनाल र सिर्जना अधिकारीको अभिनय पनि सम्झनलायक छ। निर्देशक जोन योन्जनले पात्र चयन र उनीहरूको शिल्प निखार्न निकै मिहिनेत गर्नुभएको देखिन्छ।

बेगम बाजेबाट सिकेको सीप प्रयोग गरेर ज्ञानेले कुर्सी मर्मत गरेपछि गाउँलेबाट पाएको सम्मानको दृश्य निकै मर्मस्पर्शी छ। कथा, अभिनय र छायाङ्कनका कारण यो चलचित्र दर्शकका लागि एक पटक हेर्नै पर्ने बनेको छ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.